सानिमा जिआईसीको साधारणसभा सम्पन्न

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा  सम्पन्न भएको छ ।

अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सोअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि ५६ लाख ५७ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

त्यसै गरी सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै गरी सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको छ ।  सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम चालू आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण समेत गरेको छ ।

साथै कम्पनीले यसअघि पारित गरेको १७ प्रतिशत हकप्रद शेयरसम्बन्धी व्यवस्था र त्यसबाट कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्न र बोनस शेयर जारीपश्चात संशोधित प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायबाट आवश्यक निर्देशन आए सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रस्ताव पनि पारित गरेको छ ।