राष्ट्रिय मानव अधिकार आयोगले २३ र २४ भदौको घटनामा मानव अधिकार उल्लंघन भएकोबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक भएको छ । समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारबाही अघि बढाउन सिफारिस गरेको छ ।
वहालवाला आईजीपीद्वय दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायणप्रसाद पौडेललाई समेत विभागीय कारबाहीको सिफारिस गरिएको छ । त्यसबाहेक रास्वपाका कतिपय सांसद्हरुमाथि नै अनुसन्धान गर्न समेत सिफारिस गरेको छ । सिफारिस हुने सांसद्हरुमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, राजीव खत्री, केपी खनाल, दिपक बोहरा, कृष्ण कार्कीलगायत छन् ।
रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद् एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने भनिएको छ । त्यसपछि दोषी पत्ता लगाएर कारबाही गर्न भनिएको छ ।
