कालिमाटीमा प्रहरीको ‘कडा एक्सन’ : स्रोत नखुलेको १२ लाखसहित दुई जना पक्राउ, नयाँ नेतृत्व आएपछि अपराध नियन्त्रणमा आक्रामक अभियान

काठमाडौं । राजधानीको कुलेश्वर क्षेत्रमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ५० वर्षीय शंकर साह र ४० वर्षीय प्रमोद कुमार यादव रहेका छन्। उनीहरूको साथबाट १२ लाख १५ हजार १५ रुपैयाँ नगद बरामद गरिएको काठमाडौं प्रहरी परिसर प्रमुख नरेश कुमार सिहंले जानकारी दिएका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट विभिन्न बैंकका ४ थान चेकबुक समेत फेला परेको छ। बरामद रकमको स्रोत खुल्न नसकेपछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

यससँगै प्रहरी वृत्त कालिमाटीमा नयाँ नेतृत्वको आगमनपछि सुरक्षा निगरानी थप कडा बनाइएको छ। पछिल्लो समय कालिमाटी क्षेत्रमा चेकजाँच, निगरानी र संदिग्ध गतिविधिमाथि प्रहरीको सक्रियता उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन्।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि, अवैध कारोबार वा अपरिचित गतिविधिबारे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। अपराध नियन्त्रण र शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी अहिले आक्रामक रूपमा मैदानमा उत्रिएको देखिन्छ।

स्थानीय तहदेखि बजार क्षेत्रसम्म प्रहरीको सक्रिय उपस्थितिले अपराधीक गतिविधिमा संलग्न समूहहरूमा समेत त्रास फैलिएको बताइन्छ। नयाँ नेतृत्वसँगै कालिमाटी क्षेत्रमा ‘क्राइम कन्ट्रोल अभियान’ प्रभावकारी बन्दै गएको चर्चा सुरु भएको छ।