सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल दोब्बर बनाएपछि नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ।
बजेट सार्वजनिक भएको दुई दिनपछि आइतबार बजार खुल्दा सुनको मूल्य एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँ र चाँदीको मूल्य ३०५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ थियो। यसरी एकैदिनमा सुनको मूल्यमा भएको २० हजार ५०० रुपैयाँको वृद्धि भएको हो।
सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ हजार ३४५ रुपैयाँ पुगेको छ। यसले प्रतितोला ३०५ रुपैयाँको वृद्धि देखाएको छ।
व्यवसायीहरूका अनुसार मूल्यवृद्धिको मुख्य कारण सरकारले बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउनु हो। आयात लागत बढेपछि त्यसको प्रत्यक्ष प्रभाव बजार मूल्यमा परेको उनीहरूको भनाइ छ।
सरकारको यो निर्णयले राजस्व संकलन बढाउने उद्देश्य राखे पनि यसको असर उपभोक्ता र सुन व्यवसायमा तत्काल देखिएको छ। विवाह, ब्रतबन्ध तथा अन्य सामाजिक कार्यका लागि सुन खरिद गर्ने उपभोक्ताहरू थप आर्थिक भारमा पर्ने भएका छन् भने बजारको मागमा पनि असर पर्न सक्ने अनुमान गरिएको छ।
सुन व्यवसायीहरूले भन्सार महसुलमा गरिएको ठूलो वृद्धिले वैध आयात महँगो बनाउने र अवैध कारोबारलाई प्रोत्साहन गर्ने जोखिमसमेत बढ्न सक्ने बताएका छन्। उनीहरूले सरकारले राजस्व र बजार व्यवस्थापनबीच सन्तुलन कायम गर्ने नीति अपनाउनुपर्ने सुझाव दिएका छन्।
