भारतीय विदेश सचिव बिक्रम मिश्री प्रधानमन्त्रीलाई बालेनलाई निम्ता दिन काठमाडौं आउँदै

  • Clock icon
    २०८३ कार्तिक १३, बिहीबार

प्रधानमन्त्री वालेन्द्र शाह-बालेनको भारत भ्रमणको औपचारिक निम्तो दिन र भ्रमणको अन्य तयारीका लागि भारतीय विदेश सचिव बिक्रम मिस्री नेपाल आउने तय भएको छ।

मिश्री कात्तिक १८ गते काठमाडौं आइपुग्नेछन् भने प्रधानमन्त्री  बालेनले भने मंसिर ६ गतेबाट भारतको औपचारिक भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत चैत १३ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेयता शाहले पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्न लागेका हुन्।

भ्रमणको औपचारिक घोषणा भने विदेश सचिव मिस्री काठमाडौंबाट फर्किएपछि हुने छ।

‘आगामी साता काठमाडौंमा हुने उच्चस्तरीय तयारी बैठकपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भ्रमण मिति घोषणा गर्ने तयारी छ’, परराष्ट्र स्रोतले भन्यो।

मिस्रीले काठमाडौंमा प्रधानमन्त्री शाहलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका लागि केही सातादेखि नै प्रारम्भिक तयारी सुरु भइसकेको छ ।

निवर्तमान राजदूत नवीन श्रीवास्तवले तीन वर्षे कार्यकाल पूरा गरी अक्टोबर १ मा स्वदेश फर्किएका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत असोज १ देखि ३ मा भारतको भ्रमण गर्दा नै प्रधानमन्त्रीको भारत भ्रमणको तयारी गरेर फर्किएका थिए।

उनले भारतीय कुटनीतिज्ञहरुसँगको कार्यक्रममा प्रधानमन्त्री शाहको औपचारिक विदेश भ्रमण भारतबाटै सुरु हुने बताएका थिए।

यसैबीच, नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्तिक १७ गते काठमाडौं आइपुग्ने भएका छन्।

नेपाल र भुटान मामिलाका जानकार तथा अनुभवी कूटनीतिज्ञ दलेलालाई भारतले असोज २३ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो।