विमानबाट नेपाल फर्कनेले १५ लाखसम्मको गहना र स्थमार्गबाट आउनेले ५सयभन्दा बढीको भन्सार

सरकारले वैदेशिक रोजगारीबाट जहाज चढेर नेपाल फर्किने र स्थलमार्गबाट फर्किनेलाई कानुनी रुपमै विभेदपूर्ण व्यवहार गर्दै आएको छ ।

अर्थ मन्त्रालयले हरेक वर्ष बजेट लगत्तै भन्सार ऐनलाई उदृत गर्दै नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुलाई आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा सूचना प्रकाशित गर्छ ।

चलनचल्तीको भाषामा त्यसलाई झिटीगुन्टा सम्बन्धी नियम भन्ने गरिन्छ ।

सो ऐनको प्रावधान अनुसार जहाज चढेर आउने नेपाली कामदारलाई जुन सुविधा दिइएको छ, त्यो सुविधा भारतमा काम गरेर स्थलमार्गबाट स्वदेश फर्किने नेपाली वा अन्य मुलुकबाट भारत हुँदै स्थलमार्गबाट स्वदेश फर्कने नेपालीले पाउँदैनन् ।

अर्थ मन्त्रालयका अनुसार नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई जहाजबाट नेपाल फर्कदा व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा रहेका सामान पूर्ण महसुल छुटमा ल्याउन दिइन्छ ।

जसमा आफूले प्रयोग गरेको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारिरीक रुपमा अशक्त यात्रुले साहराका रुपमा प्रयोग गरेका वस्तु, भन्सार महसुल ऐन २०८१ को अनूसूची ४ को प्रकरण १ मा तोकिएको परिमाणसम्मको सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउँदा महसुल छुट हुने छ ।

त्यसरी आउने महिलाले ५० ग्रामसम्म सुनका गरगहना तथा पुरुषले २५ ग्राम सम्मका सुनका गहना ल्याउन पाउँछन् । हालको मूल्यअनुसार ५० ग्राम सुनको मूल्य करिब १३ लाख रुपैयाँ हुन्छ ।

त्यस्तै, आफूले प्रयोग गरेको ट्यावलेट वा ल्यापटप वा डेस्कटप कम्प्यूटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल एक–एक थान समेत महसुल नतिरी ल्याउन पाइनेछ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई लगातार १२ महिना काम गरी फर्केका नेपाली नागरिकले ल्याएको ६५ इन्चसम्मको टेलिभिजनमा भने महसुल छुट हुने व्यवस्था यसपटक आर्थिक ऐन संशोधनमार्फत गरिएको छ ।

यसअघिको प्रावधानमा भने सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका नागरिकलाई त्यसरी आउँदा जुनसुकै आकार र प्रकारको एक टेलिभिजनमा छुट थियो भने कोषमा सूचिकृत नभएकाको हकमा ३२ इन्चको टेलिभिजन मात्र छुटमा ल्याउन पाइने सुविधा थियो ।