पैसाले किन्न पाइदैन दान गरौं ! आज विश्व रक्तदाता दिवस विश्वभर मनाइदै

के तपाई १८ वर्ष कट्नुभएको छ ? त्यसो भए के रक्तदान गर्नुभएको छ त ?
यो प्रश्न एकले अर्कालाई गर्ने बेला आएको छ अहिले । विश्भर रक्तदनको कमीकै कारण रगतको समस्यामा परेर ज्यान गुमाउनेको र्संख्यामा वृद्धि भएको छ । तसर्थ पैसा तिरेर किन्न सकिँदैनन्, पसलमा पाइँदैनन्, र समयमै नपाउँदा मान्छेको जीवन नै जोखिममा पर्न सक्छ। यस्तै कुरामध्ये एक हो—रगत।

रगत हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण तत्वमध्ये एक हो। यो नशा–नशामा बहिरहेको हुन्छ, प्रत्येक तन्तुमा अति आवश्यक तत्वहरू पुर्‍याइरहेको हुन्छ, शरीरको तापक्रम सन्तुलनमा राखिरहेको हुन्छ, र हाम्रो जीवनको रक्षा गरिरहेको हुन्छ।दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता पर्न सक्छ। त्यस्तो बेला रगतको विकल्प केही हुँदैन। आजको यथार्थ यही हो कि हामीमध्ये कोही पनि पूर्णतः सुरक्षित छैनौं—हिजोको सुरक्षित अवस्थाले भोलिको ग्यारेन्टी दिँदैन।

कुनै पनि समय, हामी आफैँ वा हाम्रा आफन्तजनलाई रगत आवश्यक पर्न सक्छ।त्यसैले, रक्तदान गर्नु केवल सामाजिक उत्तरदायित्व होइन, यो अरूको जीवन जोगाउने पुण्य कार्य पनि हो। समयमै रगत दिने हाम्रो सानो कदमले कसैको जीवन बच्न सक्छ।

वास्तवमा भन्ने हो भने मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ ।

यस दिवसले नयाँ रक्तदाताका रूपमा युवाहरूलाई उत्प्रेरित गर्न एवं नियमित रक्तदाताहरूलाई सम्मान गर्न स्वयंसेवी भावना बढाउँदछ । रगतको आवश्यकतालाई परिपूर्ति गर्ने रक्तदाताहरुको कदर स्वरूप नेपालमा पनि विसं २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।

सामान्यतया एक पटक रक्तदान गरेर अर्को पटक रक्तदान गर्नुका बिचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदानको कुरा गरिरहँदा आखिर रक्तदान गर्नका लागी के के कुरा हुन पर्दछ भन्ने जिज्ञासा हामीलाई लागेको हुन सक्दछ भने हामी मध्य कतिपयलाई यी कुराहरू पहिल्यै थाहा पनि छ होला । रक्तदान गर्न कालागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ ।

यस्ता रक्तदाताका सीमाहरू देश अनुसार फरक पनि हुन सक्दछन् ।

त्यसैले आज विश्वभर मनाइदे गरिएको रक्तदिवसलाई एक दिन मात्र नसम्झौं । जिम्मेवारीपूर्ण बन्न आवश्यक छ । जय रक्तदान ।