काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले नेपालको लघुवित्त क्षेत्रको संस्थागत संरचना अन्य देशको तुलनामा बलियो रहेको दाबी गर्दै यसलाई अनावश्यक रूपमा विवादित बनाउन नहुने बताएका छन्। उनले लघुवित्त क्षेत्रमा देखिएका कमजोरीलाई सुधार गर्दै विद्यमान संरचनालाई थप सुदृढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
नीति रिसर्च प्रालिको आयोजना तथा नेपाल लघुवित्त बैंकर्स संघको सहकार्यमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले नेपालको लघुवित्त क्षेत्रमा संस्थागत सुशासन, अनुपालन, जोखिम न्यूनीकरण तथा प्रणाली सुदृढीकरणका पक्षमा महत्वपूर्ण काम भइसकेको बताए। अब यही संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजानुपर्ने उनको भनाइ थियो।
“नेपालको माइक्रोफाइनान्सको संरचनामा कर्पोरेट गभर्नेन्स, कम्प्लायन्स, रिस्क मिटिगेसन र सिस्टम स्ट्रेन्थनिङ छ। अब यो संरचनाबाट पछाडि फर्किने अवस्था छैन,” अध्यक्ष यादवले भने, “यसलाई विवादित बनायौँ भने फेरि ठूलो दुर्घटना आउन सक्छ। त्यसैले यही संरचनाभित्र सन्तुलन कायम गर्दै सुधार गर्दै जानुपर्छ।”
उनले अहिलेको आवश्यकता लघुवित्त क्षेत्रको पुनर्संरचना मात्र नभई भएका संरचना र अभ्यासलाई अझ प्रभावकारी बनाउनु रहेको बताए। पछिल्लो समय लघुवित्त संस्थाहरूको संख्या घट्दै गए पनि सेवा प्रवाह, व्यवस्थापन र संस्थागत क्षमतामा सुधार आएको उनको दाबी थियो।
अध्यक्ष यादवले विगतमा करिब १०० को हाराहारीमा रहेका लघुवित्त संस्थाहरूको संख्या अहिले करिब ५० को हाराहारीमा सीमित हुँदै गएको उल्लेख गर्दै संख्या घट्नु मात्र उपलब्धि नभई त्यसबाट संस्थाहरू थप चुस्त, व्यवस्थित र सक्षम बन्नुपर्ने बताए। मर्जर तथा एकीकरणपछि संस्थाहरूको कार्यक्षमता र व्यवस्थापनमा थप सुधार आएको उनको भनाइ थियो।
उनले भने, “पहिलेभन्दा आधा संख्यामा संस्था हुँदा पनि एउटै ग्राहक वर्गलाई अझ व्यवस्थित ढंगले सेवा दिन सकिने अवस्था बनेको छ। मर्जरपछि संस्थाहरू थप चुस्त भएका छन्। लघुवित्त क्षेत्रमा रहेका गलत अभ्यास र कमजोरीलाई सुधार गर्न अहिलेका संस्थाहरू सक्षम छन्।”
अध्यक्ष यादवले लघुवित्त र सहकारीबीचको अन्तरबारे आम नागरिकमा अझै पर्याप्त बुझाइ हुन नसक्दा कतिपय अवस्थामा भ्रम र समस्या सिर्जना भएको बताए। लघुवित्त संस्थाहरूको छुट्टै पहिचान स्थापित गर्न पुनः ‘लघुवित्त बैंक’ लेख्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत उनले अघि सारे।

उनका अनुसार लघुवित्तको आफ्नै विशिष्ट कार्यक्षेत्र, उद्देश्य र सेवा प्रणाली भएकाले सहकारीसँग यसको स्पष्ट भिन्नता जनस्तरसम्म पुर्याउन आवश्यक छ। नाम र पहिचानले पनि सेवाग्राहीमा संस्थाको प्रकृति र भूमिकाबारे स्पष्टता ल्याउन सक्ने उनको भनाइ थियो।
लघुवित्त संस्थाहरूको अर्को महत्वपूर्ण चुनौती स्रोत व्यवस्थापन रहेको उल्लेख गर्दै अध्यक्ष यादवले वाणिज्य बैंकहरूमाथिको अत्यधिक निर्भरता घटाउन वैकल्पिक कोषको व्यवस्था गर्नुपर्ने बताए। सस्तो ब्याजदरमा उपलब्ध हुने दीर्घकालीन स्रोत परिचालन गरेर लघुवित्त संस्थालाई थप स्थिर र दिगो बनाउन सकिने उनको सुझाव थियो।
“नेपाल सरकारले विश्व बैंक वा एसियाली विकास बैंकबाट सस्तो ब्याजदरमा स्रोत लिएर नेपाल राष्ट्र बैंकमार्फत वा स्वतन्त्र संरचनामार्फत लघुवित्त क्षेत्रलाई आवश्यक स्रोत उपलब्ध गराउन सक्छ,” उनले भने, “यसबाट लघुवित्त संस्थाहरूले दिगो रूपमा वित्तीय स्रोत परिचालन गर्न सक्ने वातावरण बन्न सक्छ।”
अध्यक्ष यादवले लघुवित्त संस्थाहरूले आफ्नो नियमित व्यवसायसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने बताए। संस्थाहरूबाट विभिन्न शीर्षकमा हुने खर्चलाई अनावश्यक रूपमा विस्तार गर्नुको सट्टा सेवाग्राहीका सफलताका कथा, अन्तरक्रिया, वित्तीय सचेतना तथा सकारात्मक परिवर्तनका उदाहरणहरू सार्वजनिक गर्न प्रयोग गर्नुपर्ने उनको धारणा थियो।
लघुवित्तमार्फत ग्रामीण तथा न्यून आय भएका परिवारको आर्थिक तथा सामाजिक जीवनमा आएको परिवर्तनलाई समाजसम्म पुर्याउन सके यस क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माण गर्न सहयोग पुग्ने उनले बताए। “लघुवित्तले गरेका राम्रा काम र सफलताका कथाहरू समाजमा देखिनुपर्छ। त्यसका लागि अन्तरक्रिया र सकारात्मक सन्देश प्रवाहमा पनि लगानी गर्नुपर्छ,” यादवले जोड दिए।
उनले लघुवित्त क्षेत्रमा समस्या नै छैन भन्ने नभई देखिएका कमजोरी पहिचान गरेर सुधार गर्ने क्षमता संस्थाहरूसँग रहेको बताए। विगतका अनुभवबाट सिक्दै नियमनकारी निकाय, लघुवित्त संस्था, सेवाग्राही, विज्ञ तथा सरोकारवाला सबै पक्षबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो।
अध्यक्ष यादवले लघुवित्त क्षेत्रलाई कमजोर बनाउनेभन्दा सुधार, सुदृढीकरण र सन्तुलन कायम गर्ने दिशामा बहस केन्द्रित हुनुपर्ने बताए। अहिलेको संरचनालाई थप प्रभावकारी बनाउँदै संस्थागत सुशासन, जोखिम व्यवस्थापन, सेवा गुणस्तर र सेवाग्राही हितलाई केन्द्रमा राखेर अघि बढ्न सके नेपाली लघुवित्त क्षेत्र अझ बलियो बन्ने उनको विश्वास छ।
उनले लघुवित्त क्षेत्रका समस्या, सम्भावना र सुधारका विषयमा यस्ता अन्तरक्रिया तथा छलफलहरू निरन्तर आयोजना हुनुपर्नेमा पनि जोड दिए। विभिन्न पक्षका अनुभव, सुझाव र आलोचनालाई एउटै मञ्चमा ल्याएर समाधानमुखी बहस गर्न सके लघुवित्त क्षेत्रलाई थप जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउन सकिने उनको भनाइ थियो।
अध्यक्ष यादवको समग्र जोड भने लघुवित्तको विद्यमान संरचना भत्काउनेभन्दा त्यसलाई सुधार्दै, सन्तुलित बनाउँदै र अझ प्रभावकारी ढंगले अघि बढाउनेमा रहेको छ। संख्या घटाएर मात्र होइन, संस्थाको क्षमता, सेवा गुणस्तर, सुशासन र सेवाग्राहीप्रतिको उत्तरदायित्व बढाएर लघुवित्त क्षेत्रलाई अझ बलियो बनाउनुपर्ने उनको धारणा छ।
