काठमाडौं । वन्डर्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको ९ मेगावाट क्षमताको खिम्ती–ध्वाङ साना जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धतासहित कम्पनीको वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
आज सम्पन्न साधारणसभामा कम्पनीका कार्यकारी सञ्चालक प्रकाश दुलाल ले आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै २०८४ साल चैतभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो।
उहाँका अनुसार आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति २०८३ वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको छ। यससँगै आयोजना निर्माणको महत्वपूर्ण प्रशासनिक प्रक्रिया पूरा भएकाले निर्माण कार्यले थप गति लिएको उहाँले जानकारी दिनुभयो।
कार्यकारी सञ्चालक दुलालका अनुसार आयोजनाको कुल लागत रु. १ अर्ब ९० करोड रहने अनुमान गरिएको छ। यसमध्ये रु. १ अर्ब २५ करोड ऋण लगानीका लागि एनएमबी बैंकसँगको समझदारी अन्तिम चरणमा पुगेको छ। बाँकी रु. ६५ करोड स्वपुँजीमध्ये रु. ३५ करोड जुटिसकेको र बाँकी रु. ३० करोड चालु वर्षको असोजभित्र संकलन गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले बताउनुभयो।
साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गरी रु. १०० करोड पुर्याउने महत्वपूर्ण निर्णय गरेको छ। यसमध्ये रु. ७० करोड स्वपुँजी र रु. ३० करोड प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत जुटाइने निर्णय गरिएको छ।
त्यसैगरी, आयोजना निर्माणका लागि आवश्यक बैंक ऋण प्रक्रिया अघि बढाउन तथा सम्बन्धित वित्तीय व्यवस्थापनका लागि कम्पनीको सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।
कम्पनीका अनुसार आवश्यक वित्तीय स्रोत व्यवस्थापन, सरकारी स्वीकृतिहरू र निर्माण कार्य समानान्तर रूपमा अघि बढिरहेकाले खिम्ती–ध्वाङ साना जलविद्युत आयोजना निर्धारित समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्ने लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरिएको छ।