काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित राष्ट्रिय अवार्डबाट एकैपटक सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने निजी क्षेत्रको बैंकतर्फको बहुमूल्य गोल्ड अवार्ड प्राप्त गरेको हो ।
साथै बीपीए पुरस्कारको इतिहासमै पहिलो पटक समावेश गरिएका दुई नयाँ विधाहरू ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पाउन समेत बैंक सफल भएको छ। यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई नवीन विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदनको मुख्य गोल्ड अवार्ड गरी एकैपटक तीनवटा पुरस्कारबाट सम्मानित हुँदै नबिल बैंकले आफ्नो वित्तीय शाखलाई थप सुदृढ बनाएको छ ।
काठमाडौँमा आयोजित समारोहबिच आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई ती विधाका अवार्डहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो सम्मान प्रदान गरेको हो। अवार्ड छनोटका क्रममा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन र दिगोपना जस्ता कडा अन्तर्राष्ट्रिय मापदण्डहरू राखिएको थियो, जसमा नबिल बैंक सबै सूचकमा अब्बल ठहरिएको आयोजक संस्थाले जनाएको छ। नबिल बैंकले यसअघि सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदनका लागि पनि लगातार यो विधाको मुख्य पुरस्कार जितेको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तरमा आयोजना गरिने प्रतिष्ठित साफा बीपीए अवार्डका लागि समेत स्वतः मनोनित हुनेछ ।
विगत चार दशकदेखि नेपाली वित्तीय बजारमा गुणस्तरीय र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट आफ्ना सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ । हालसम्म २५ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको यस बैंकले आफ्ना सबै सरोकारवालाहरू र शेयरधनीहरूसँग सहकार्य गर्दै पारदर्शी रूपमा अघि बढ्ने विश्वास राखेको छ ।