मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ।

सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की पछि न्याय प्रशासनतर्फ आबद्ध भएका थिए। सिफारिससँगै उनले रजिस्ट्रार पदबाट राजीनामा दिएर संसदीय सुनुवाइ प्रक्रिया पूरा गर्नुपर्नेछ।

परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र निर्वाचन आयोगका अवकाशप्राप्त उपन्यायाधीवक्ता गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा पनि सिफारिस गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अवकाशपछि आयोग नेतृत्वविहीन हुँदै आएको थियो। हाल कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी पनि अर्को साता उमेरहदका कारण अवकाशमा जाँदैछन्। आयोगमा लामो समयदेखि प्रमुख आयुक्तसहित दुई आयुक्तको पद रिक्त रहेको थियो।