ऊर्जा क्षेत्रको भविष्यबारे राष्ट्रिय बहस ‘पावर नेपाल कन्क्लेभ २०८३’ आज आयोजना हुँदै

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, सम्भावना, लगानी, नीति तथा दिगो विकासका विषयमा व्यापक छलफल गर्ने उद्देश्यले नेपाल रिपब्लिक मिडिया लिमिटेडको आयोजनामा आज ‘पावर नेपाल कन्क्लेभ २०८३’ आयोजना हुँदैछ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीराजभक्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रमको मुख्य वक्ताका रूपमा भारत सरकारका पूर्व सचिव तथा ऊर्जा विज्ञ अनिल स्वरुप रहनेछन्। कार्यक्रममा ऊर्जा उत्पादन, प्रसारण, वितरण, ऊर्जा उपभोगको प्रभावकारिता, निजी क्षेत्रको भूमिका, हरित ऊर्जा, डिजिटल पूर्वाधार तथा ऊर्जा क्षेत्रमा लगानी विस्तारलगायत विषयमा स्वदेश तथा विदेशका विज्ञ, नीतिनिर्माता, उद्योगी, बैंकर र ऊर्जा क्षेत्रका सरोकारवालाबीच दुई चरणमा गहन छलफल हुने आयोजकले जनाएको छ।

ऊर्जा क्षेत्रको समग्र पारिस्थितिक प्रणाली र नेपालको विद्युतीय भविष्यका लागि आवश्यक वित्तीय व्यवस्थापनका विषयमा केन्द्रित हुने कन्क्लेभले नीति निर्माण, निजी क्षेत्रको सहभागिता तथा लगानीमैत्री वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल रिपब्लिक मिडियाले यसअघि पनि अर्थतन्त्र, पूर्वाधार, लगानी, पर्यटन, ऊर्जा तथा राष्ट्रिय विकाससँग सम्बन्धित यस्तै स्तरका बहस र संवाद कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमले सरकार, निजी क्षेत्र, विज्ञ र आम सरोकारवालाबीच रचनात्मक संवादको वातावरण सिर्जना गर्नुका साथै नीति सुधार र विकासका नयाँ सम्भावनालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

देशको समृद्धिको आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई अझ प्रतिस्पर्धी, दिगो र लगानीमैत्री बनाउने साझा लक्ष्यका साथ आयोजना हुन लागेको ‘पावर नेपाल कन्क्लेभ २०८३’ ले नेपालको ऊर्जा भविष्यलाई थप उज्यालो बनाउन नयाँ सोच, सहकार्य र सकारात्मक प्रतिबद्धताको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।