‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’

  • Clock icon
    २०८३ श्रावण १२, मंगलवार

सोलुखुम्बु । शिक्षकका जायज माग सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा सोलुखुम्बुका शिक्षकहरुले जोड दिएका छन् ।

नेपाल शिक्षक महासंघ सोलुखुम्बुको प्रथम जिल्ला परिषद्का अवसरमा बोल्दै शिक्षकहरुले शिक्षक महासंघसँग विगतमा भएका सहमति तथा सम्झौताहरू कार्यान्वयन हुन नसकेको गुनासो गरे ।

उनीहरुले शिक्षकका सम्पूर्ण माग समेटिएको विद्यालय शिक्षा ऐन अझै जारी हुन नसकेको, शिक्षा नियमावलीमा शिक्षकको पेसागत सुनिश्चिततासम्बन्धी सहभागिता घटाइएको तथा स्थानीय तहको क्षेत्राधिकार विस्तारका कारण शिक्षकहरू पुनः समस्यामा पर्न सक्ने अवस्था देखिएको धारणा राखे ।

नेपाल शिक्षक महासंघ सोलुखुम्बुका जिल्ला सचिव सूर्यबहादुर बस्नेतले राष्ट्रिय समितिबाट जारी निर्देशनको पूर्ण कार्यान्वयन गर्दै समग्र शैक्षिक उन्नति र शिक्षक–कर्मचारीको पेसागत हकहित संरक्षणमा जिल्ला समिति सक्रिय रहेको बताए ।

उनले महासंघसँग विगतमा भएका सहमति तथा सम्झौताहरू कार्यान्वयन हुन नसकेको गुनासो गरेका हुन् ।

उनले सबै प्रकृतिका शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउन राष्ट्रिय समितिमार्फत पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।

साथै विद्यालय कर्मचारी तथा प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक–सहजकर्ताको न्यूनतम सेवा–सुविधा र पेसागत सुनिश्चितताका लागि एकताबद्ध भई राष्ट्रिय समितिबाट हुने कार्यक्रम तथा आन्दोलनमा सक्रिय सहभागिता जनाउन आग्रह गरे ।

‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित प्रथम जिल्ला परिषद् आइतबार सल्लेरीमा सम्पन्न भएको हो ।

परिषद्लाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघ सोलुखुम्बुका जिल्ला अध्यक्ष जनककुमार थापाले नेपाल शिक्षक महासंघ सम्पूर्ण नेपाली शिक्षक तथा विद्यालय कर्मचारीको साझा छाता संस्था भएको बताए ।

उनका अनुसार वि.सं. २०७१ माघ २८ गते महासंघ घोषणा भई २०७१ फागुन २७ गते केशव निरौलाको अध्यक्षतामा राष्ट्रिय तदर्थ समिति गठन गरिएको थियो ।

सोही समितिले देशभर संगठन विस्तार गर्ने क्रममा सोलुखुम्बुमा पनि महासंघ गठन भई शिक्षक तथा विद्यालय कर्मचारीको हकहित र पेसागत संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरे ।

हाल दोस्रो जिल्ला कार्यसमिति गठन भइसकेको र सोही कार्यसमितिको आयोजनामा प्रथम जिल्ला परिषद् सम्पन्न भएको उनको भनाइ थियो ।

अध्यक्ष थापाले वि.सं. २०८१ चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म सञ्चालन भएको २९ दिने शिक्षक आन्दोलनका क्रममा जिल्लामा संकलन भएको रकम तथा त्यसको खर्च विवरणसमेत सार्वजनिक गरेका थिए ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मदनकुमार राईले शिक्षक तथा विद्यालय कर्मचारीका हकहितका लागि विगतमा पटक–पटक आन्दोलन गरिए पनि अपेक्षाअनुसार उपलब्धि हासिल हुन नसकेको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष खिलक बहादुर कार्की, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष हस्तबहादुर राई, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थिती रहेको थियो ।

  • Clock icon
    २०८३ श्रावण १२, मंगलवार