‘नेपाल स्टार्टअप समिट–२०२६’ : “सोच बदलौँ, नेपालमै उद्यम गरौँ, रोजगारी सिर्जना गरौँ”

काठमाडौं, साउन २०/ नेपालमा उद्यमशीलता, नवप्रवर्तन आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘नेपाल स्टार्टअप समिट-२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ। “Startups: Role in Nation Building (राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका)” भन्ने मूल नारासहित सुरु भएको यो अभियानले नेपालका युवालाई विदेश जाने सोचभन्दा स्वदेशमै अवसर सिर्जना गर्ने मानसिकता विकास गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।

विश्वका विकसित राष्ट्रहरू-अमेरिका, चीन, इजरायल, सिङ्गापुर, दक्षिण कोरिया, भारत लगायतका मुलुकहरूले स्टार्टअप, नवप्रवर्तन र प्रविधिलाई आर्थिक विकासको प्रमुख आधार बनाएका छन्। आज विश्वका ठूला कम्पनीहरू पनि कुनै समय साना स्टार्टअपका रूपमा सुरु भएका थिए। यही अनुभवबाट प्रेरणा लिँदै नेपालमा पनि युवाको सिर्जनशीलता, सीप र नवीन सोचलाई उद्यममा रूपान्तरण गर्न यो अभियान सुरु गरिएको हो।

यसअघि सन् २०२५ मा “स्टार्टअपमा अवसर, चुनौती र अबको बाटो” विषयक कार्यक्रम आयोजना गरिएको थियो। त्यसबाट प्राप्त सकारात्मक सुझाव र अनुभवका आधारमा यस वर्ष नेपाल स्टार्टअप समिट–२०२६ लाई देशव्यापी अभियानका रूपमा विस्तार गरिएको आयोजकले जनाएको छ।

अभियानअन्तर्गत पहिलो कार्यक्रम त्रिभुवन विश्वविद्यालय बाट सुरु गरिएको छ। त्यसपछि काठमाडौं विश्वविद्यालय, अन्य विश्वविद्यालय, विद्यालय, कलेज तथा सातै प्रदेशका विभिन्न शैक्षिक संस्थामा अभिमुखीकरण, अन्तरक्रिया, कार्यशाला र प्रेरणामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रमको उद्देश्य युवालाई व्यवसाय कसरी सुरु गर्ने, व्यवसाय योजना (Business Plan) कसरी बनाउने, लगानी कहाँबाट जुटाउने, सरकारी तथा निजी क्षेत्रबाट उपलब्ध सहुलियत र ऋण सुविधा कसरी प्राप्त गर्ने, आफ्नो उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कसरी पुर्‍याउने भन्ने विषयमा व्यावहारिक जानकारी प्रदान गर्नु रहेको छ।


अध्यक्ष शोभा ज्ञवाली : “आफ्नो सोच परिवर्तन गरौँ, नेपालमै भविष्य निर्माण गरौँ”

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल स्टार्टअप समिट–२०२६ की अध्यक्ष शोभा ज्ञवाली ले नेपालमा सम्भावनाको कमी नभई सोच र आत्मविश्वासको कमी रहेको बताउनुभयो।

उहाँले भन्नुभयो,

“हामीले सबैभन्दा पहिले आफ्नो सोच परिवर्तन गर्नुपर्छ। विदेश जानु मात्रै सफलताको बाटो होइन। नेपालमै प्रशस्त सम्भावना छन्। कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, उत्पादन, सेवा र डिजिटल व्यवसायका क्षेत्रमा हजारौँ अवसर छन्। अब युवाले जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने सोच बनाउनुपर्छ।”

उहाँले नेपालमा व्यवसाय सुरु गर्न चाहने युवाका लागि विभिन्न सरकारी तथा निजी संस्थाबाट सहुलियतपूर्ण ऋण, स्टार्टअप सहायता तथा वित्तीय पहुँच उपलब्ध रहेको उल्लेख गर्दै ती अवसरहरूको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो।

उहाँका अनुसार नेपाल राष्ट्र बैंक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले सहुलियतपूर्ण कर्जा, उद्यमशीलता कर्जा तथा स्टार्टअपमा लगानीका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। साथै स्थानीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रका केही संस्थाले पनि उद्यमशील युवालाई सहयोग गर्दै आएका छन्।

उहाँले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै भन्नुभयो,

“विश्व बजारले नेपाली उत्पादनलाई गुणस्तरीय र मौलिक उत्पादनका रूपमा हेर्ने गरेको छ। अब हामीले गुणस्तरीय उत्पादन गरी विश्व बजारसम्म कसरी पुर्‍याउने भन्ने सोच विकास गर्नुपर्छ। नेपाली उत्पादनलाई विश्वसँग जोड्न सक्यौं भने नेपालमै हजारौँ रोजगारी सिर्जना गर्न सकिन्छ।”

किनोट वक्ता इन्जिनियर उमेश गुप्ता : “सफल व्यवसाय योजना, सही प्रक्रिया र निरन्तर प्रयासले सफलता सम्भव छ”

कार्यक्रमका किनोट वक्ता औधोगिक ब्यबसाय बिकाश प्रतिष्ठानका निबर्तमान कार्यकारी निर्देशक इन्जिनियर उमेश गुप्ता ले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न आवश्यक सम्पूर्ण प्रक्रियाबारे विस्तृत जानकारी दिनुभयो।

उहाँले कम्पनी दर्तादेखि कानुनी प्रक्रिया, कर प्रणाली, व्यवसाय सञ्चालन, बजार अध्ययन, लगानी व्यवस्थापन, वित्तीय अनुशासन तथा सफल उद्यम सञ्चालनका आधारभूत पक्षहरूबारे व्यावहारिक प्रस्तुति दिनुभयो।

उहाँले विश्वका सफल स्टार्टअप कम्पनीहरूको उदाहरण प्रस्तुत गर्दै भन्नुभयो,

“संसारका धेरै ठूला कम्पनीहरू एउटा सानो विचारबाट सुरु भएका हुन्। सफल हुन ठूलो लगानीभन्दा स्पष्ट उद्देश्य, निरन्तर मेहनत, सही योजना र समस्या समाधान गर्ने सोच आवश्यक हुन्छ।”

उहाँले नेपालको कानुनी व्यवस्था, कम्पनी दर्ता प्रक्रिया, कर प्रणाली तथा व्यवसाय सञ्चालनका आवश्यक पक्षहरूबारे जानकारी दिँदै युवालाई अवसरको खोजीभन्दा अवसर सिर्जना गर्न प्रेरित गर्नुभयो।


कलेज प्रशासन : “यस्ता कार्यक्रम प्रत्येक कलेजमा आवश्यक छन्”

कार्यक्रममा सहभागी कलेज प्रशासनले नेपालमा उद्यमशीलताको संस्कृतिको विकासका लागि यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरेको छ।

कलेजका प्रतिनिधिहरूले आफ्नै कलेजबाट नेपाल स्टार्टअप समिट–२०२६ को यात्रा सुरु हुनु गौरवको विषय भएको उल्लेख गर्दै भविष्यमा पनि विद्यार्थीलाई उद्यमशीलतासँग जोड्ने यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न इच्छुक रहेको बताएका छन्।

उनीहरूले विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र नभई व्यवसाय, नवप्रवर्तन, नेतृत्व विकास र आत्मनिर्भर बन्ने सीप प्रदान गर्ने कार्यक्रम समयको आवश्यकता भएको बताएका छन्।


देशव्यापी अभियानको तयारी

आयोजकका अनुसार नेपाल स्टार्टअप समिट–२०२६ अब देशका सातै प्रदेश, विश्वविद्यालय, विद्यालय तथा कलेजमा पुग्नेछ। प्रत्येक कार्यक्रममा सफल उद्यमी, उद्योगी, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, लगानीकर्ता र विषय विज्ञहरूको सहभागितामार्फत युवालाई प्रत्यक्ष सिकाइ, मार्गदर्शन तथा नेटवर्किङको अवसर प्रदान गरिनेछ।

नेपालबाट हरेक वर्ष ठूलो संख्यामा युवा विदेशिने अवस्थालाई परिवर्तन गर्दै स्वदेशमै उद्यम स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अभियानका रूपमा नेपाल स्टार्टअप समिट–२०२६ सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अन्त्यमा आयोजकले “नेपालमा सम्भावना छैन भन्ने होइन, सम्भावना चिन्ने दृष्टिकोण र त्यसलाई अवसरमा रूपान्तरण गर्ने साहस आवश्यक छ। अब आफ्नो सोच बदलौँ, नेपालमै उद्यम गरौँ, रोजगारी सिर्जना गरौँ र समृद्ध नेपालको निर्माणमा योगदान दिऔँ।” भन्ने सन्देशसहित अभियानलाई देशव्यापी रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।