दशैंको उल्लास, आस्थाको उज्यालो र सामाजिक सद्भावको सन्देश

नेपाली हिन्दुहरुको महान् पर्व बडादशैं आज घटस्थापनासँगै सुरु भएको छ।

राजदूत छनोटमा खुला प्रतिस्पर्धा:योग्यताको आधार र स्पष्टता ?

आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा जमरा राखेर, कलश स्थापना गरी र दुर्गा भवानीको आराधना गर्दै सुरु हुने दशैंले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक मिलन, सांस्कृतिक निरन्तरता र सामाजिक सद्भावको सन्देश बोकेको छ।

आज असोज २५ गते आइतबारबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।

दशैं सुरु, आज पहिलो दिन घटस्थापना-साइत बिहान ११:४७ मा

यस वर्षको विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दशैं नेपालीको जीवनशैली, संस्कृति र सामूहिक पहिचानसँग जोडिएको सबैभन्दा महत्त्वपूर्ण पर्वमध्ये एक हो।

दशैं केवल टीका, जमरा र मीठोमसिनो खाने पर्व होइन। यो विगतका दुःख बिर्सेर नयाँ आशा जगाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने, परिवारका सदस्यबीच आत्मीयता बढाउने र समाजमा आपसी विश्वास पुनःस्थापित गर्ने अवसर पनि हो।

वर्षभरि काम, अध्ययन, व्यवसाय र रोजगारीका कारण छुट्टिएका परिवारका सदस्यहरू दशैंमा भेटघाट गर्ने, ठूलाबडाको आशीर्वाद लिने र सुखदुःख साटासाट गर्ने परम्परा नेपाली समाजको विशिष्ट सांस्कृतिक विशेषता बनेको छ।

आस्थाको आरम्भ, जमराको प्रतीकात्मक अर्थ

घटस्थापनाका दिन घरको पूजाकोठा वा विधिअनुसार निर्धारित स्थानमा पवित्र कलश स्थापना गरी जौ छरिन्छ। अँध्यारो वा प्रत्यक्ष घाम नपर्ने स्थानमा हुर्काइने पहेँलो जमरा विजयादशमीका दिन टीकासँगै ग्रहण गरिन्छ। जमरा समृद्धि, उर्वरता, जीवन र नयाँ सम्भावनाको प्रतीकका रूपमा लिइन्छ। नौ दिनसम्म दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले यस अवधिलाई नवरात्रका रूपमा पनि मनाइन्छ।

धार्मिक मान्यताअनुसार देवी दुर्गाले असुरमाथि विजय प्राप्त गरेको प्रसङ्गसँग दशैं जोडिएको छ। यसले अन्यायमाथि न्याय, असत्यमाथि सत्य र अहंकारमाथि विवेकको विजयको सन्देश दिन्छ। यही सन्देशलाई आजको समाजसँग जोडेर हेर्ने हो भने दशैंले व्यक्तिलाई आफ्ना कमजोरी सच्याउन, गलत प्रवृत्तिविरुद्ध उभिन र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुपर्छ।

धर्मको वास्तविक सार केवल कर्मकाण्डमा सीमित हुँदैन। अरूको दुःख बुझ्नु, कमजोरलाई सहयोग गर्नु, परिवारमा सम्मान र समाजमा न्यायको व्यवहार गर्नु पनि मानवीय मूल्यका महत्त्वपूर्ण पक्ष हुन्। त्यसैले दशैंको धार्मिक उत्सवसँगै यसको नैतिक सन्देशलाई व्यवहारमा उतार्नु आवश्यक छ।

फूलपातीदेखि विजयादशमीसम्म उत्सवको रौनक

दशैंका दिनहरू क्रमशः अघि बढ्दै जाँदा पर्वको उल्लास थपिँदै जान्छ। असोज ३१ गते शनिबार फूलपाती, कात्तिक १ गते आइतबार महाअष्टमी, कात्तिक ३ गते मंगलबार महानवमी र कात्तिक ४ गते बुधबार विजयादशमी परेको छ। विजयादशमीका दिन मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

टीका लगाउने परम्परा केवल धार्मिक विधि मात्र होइन, पुस्ताबीच सम्बन्ध जोड्ने सांस्कृतिक माध्यम पनि हो। ठूलाबडाले सानालाई आशीर्वाद दिने र सानाले ठूलालाई सम्मान गर्ने अभ्यासले परिवारभित्र आत्मीयता र जिम्मेवारीको भावना बलियो बनाउँछ। परिवारका ज्येष्ठ सदस्यबाट प्राप्त आशीर्वादले जीवनमा अनुशासन, सदाचार र सकारात्मक सोचको महत्त्व सम्झाउँछ।

नेपालका विभिन्न समुदायमा दशैं मनाउने तरिका र परम्परामा विविधता पाइन्छ। यही विविधताभित्रको एकता नेपाली समाजको सुन्दर पक्ष हो। आस्था, संस्कृति र पारिवारिक परम्परालाई सम्मान गर्दै सबै समुदायबीच सद्भाव कायम राख्नु नै पर्वको वास्तविक सौन्दर्य हो।

परदेशिएका नेपालीको मनमा पनि दशैं

दशैं आउँदा गाउँघरका बाटाघाटा, बजार, सार्वजनिक यातायात र घरआँगनमा छुट्टै चहलपहल देखिन्छ। रोजगारी, अध्ययन र व्यवसायका लागि विदेशमा रहेका नेपालीको मन पनि यही बेला घरपरिवारतर्फ फर्किन्छ। सबैलाई घर फर्कन सम्भव नहुन सक्छ। आर्थिक बाध्यता, लामो दूरी, कामको जिम्मेवारी र यात्राको खर्चका कारण धेरै नेपाली परदेशमै बसेर दशैं सम्झिन बाध्य हुन्छन्।

परदेशमा रहेका नेपालीका लागि दशैं केवल चाड होइन, परिवारको सम्झना र मातृभूमिसँगको भावनात्मक सम्बन्धको अवसर पनि हो।

प्रविधिले टाढिएका आफन्तसँग भिडियो कलमार्फत जोडिन सहज बनाएको छ, तर परिवारसँगै बसेर टीका थाप्नु र आशीर्वाद लिनुको अनुभूति फरक हुन्छ। त्यसैले स्वदेशमा रहेका परिवारले परदेशमा रहेका आफन्तको भावनालाई बुझ्नु र उनीहरूसँग आत्मीय सम्पर्क कायम राख्नु आवश्यक छ।

दशैंले अर्को महत्त्वपूर्ण प्रश्न पनि उठाउँछ—आफ्नै देशमा रोजगारी र सम्मानजनक जीवनयापनको अवसर पर्याप्त बनाउन हामी कति सफल भएका छौँरु पर्वमा घर फर्किनेहरूको भीड देखेर मात्रै खुसी हुनु पर्याप्त छैन। रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता घटाउने, श्रमिकको सम्मान गर्ने र परिवारसँगै सुरक्षित जीवन बिताउन सक्ने वातावरण निर्माण गर्नु पनि राज्य र समाजको साझा दायित्व हो।

खुसीको पर्वमा आर्थिक बोझ नबढाऔँ

दशैंसँगै बजारमा किनमेल, नयाँ लुगा, खाद्यान्न, उपहार र यातायातमा खर्च बढ्छ। व्यापार व्यवसायमा चहलपहल आउँछ र आर्थिक गतिविधि चलायमान हुन्छ। तर चाडपर्वको खुसी देखाउने नाममा अनावश्यक खर्च गर्ने, ऋण लिएर तडकभडक गर्ने र अरूसँग तुलना गरेर खर्च बढाउने प्रवृत्तिले कतिपय परिवारलाई आर्थिक दबाबमा पार्न सक्छ।

दशैं मनाउन महँगा कपडा, ठूलो भोज वा महँगो उपहार अनिवार्य छैनन्। परिवारसँगको आत्मीयता, मीठो बोली, आपसी सम्मान र उपलब्ध स्रोतको विवेकपूर्ण उपयोगले पनि पर्वलाई विशेष बनाउन सक्छ। आर्थिक अवस्था कमजोर भएका परिवार, एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सहाराविहीन नागरिकलाई सम्झन सकियो भने दशैंको खुसी अझ अर्थपूर्ण हुन्छ।

बजारमा कृत्रिम मूल्यवृद्धि, म्याद गुज्रिएका वस्तुको बिक्री, नापतौलमा ठगी र उपभोक्ता अधिकारको उल्लङ्घन हुन नदिन सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्छ। व्यवसायीले पनि चाडपर्वलाई अनुचित नाफा कमाउने अवसरका रूपमा होइन, उपभोक्ताप्रतिको जिम्मेवारी निर्वाह गर्ने समयका रूपमा लिनुपर्छ।

त्यसैगरी दशैंका बेला यात्रुको चाप बढ्ने भएकाले सार्वजनिक यातायातको सुरक्षित व्यवस्थापन, सवारीसाधनको नियमित जाँच, क्षमताभन्दा बढी यात्रु नराख्ने व्यवस्था र सडक सुरक्षामा विशेष ध्यान दिनुपर्छ। मदिरा सेवन गरेर सवारी चलाउने, तीव्र गति अपनाउने र लापरबाही गर्ने प्रवृत्तिले पर्वको खुसीलाई दुःखमा बदल्न सक्छ। चाडपर्वको उत्सवसँगै आफ्नो र अरूको सुरक्षाप्रति सचेत रहनु सबैको दायित्व हो।

दशैंले बदलोस् हाम्रो सोच र व्यवहार

आज घटस्थापनासँगै सुरु भएको दशैंले सबै नेपालीमा नयाँ उत्साह र आशा जगाओस्। परिवारमा मेलमिलाप, समाजमा सद्भाव, सार्वजनिक जीवनमा इमानदारी र राष्ट्रप्रति जिम्मेवारीको भावना बलियो बनोस्। व्यक्तिगत सफलता मात्र होइन, अरूको जीवनमा खुसी थप्न सक्ने क्षमता पनि हाम्रो उपलब्धिको मापदण्ड बनोस्।

दशैंमा देवी दुर्गाको आराधना गर्दै शक्ति माग्नुको अर्थ अन्याय सहेर बस्नु होइनस अन्यायविरुद्ध विवेकपूर्ण रूपमा उभिने साहस प्राप्त गर्नु पनि हो। समृद्धिको कामना गर्नुको अर्थ आफ्नै घरको उन्नति मात्र होइनस छिमेकी, विपन्न वर्ग र समुदायको जीवनमा पनि अवसर र सम्मान विस्तार होस् भन्ने चाहना राख्नु हो।

हाम्रो संस्कृति तबसम्म जीवन्त रहन्छ, जबसम्म त्यसले नयाँ पुस्तालाई सकारात्मक मूल्य सिकाउँछ। बालबालिकालाई दशैंका परम्परा सिकाउँदा यसको धार्मिक महत्त्वसँगै सत्य, करुणा, सहयोग, अनुशासन र सामाजिक उत्तरदायित्वको अर्थ पनि बुझाउनुपर्छ। परम्पराको संरक्षण समयअनुसार आवश्यक सुधार र मानवीय संवेदनशीलतासँगै अघि बढ्नुपर्छ।

घटस्थापनाले सुरु गरेको यो सांस्कृतिक यात्राले विजयादशमीमा आशीर्वाद र आत्मीयताको रूप लिनेछ। टीका र जमरासँगै मनमा सद्भाव, व्यवहारमा इमानदारी र समाजमा सहयोगको भावना पनि ग्रहण गर्न सकियो भने दशैंको अर्थ अझ गहिरो हुनेछ।

यस वर्षको बडादशैंले सबै नेपालीको घरआँगनमा सुख, शान्ति र समृद्धि ल्याओस्। स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र एकता अझ बलियो बनोस्।

अन्याय, विभेद, निराशा र द्वेषमाथि मानवता, न्याय र आशाको विजय होस्। यही कामनासहित सबैमा बडादशैंको हार्दिक मंगलमय शुभकामना !