डोल्पामा सीमा क्षेत्रका करिब २०० बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण

जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा नेपाल–चीन सीमा क्षेत्रका करिब २०० जना स्थानीय बासिन्दालाई प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको छ ।

नेपाल–चीन सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको आवतजावतलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले प्रस्थान तथा प्रवेशपत्र वितरण गरिएको हो ।

सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकलाई दैनिक आवश्यक काम, व्यापार–व्यवसाय तथा सामाजिक गतिविधिका लागि सीमावर्ती क्षेत्रमा आवतजावत गर्नुपर्ने भएकाले प्रवेश तथा प्रस्थानपत्र महत्वपूर्ण मानिन्छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाउँपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा सीमा क्षेत्रका स्थानीय बासिन्दाको आवश्यक विवरण संकलन तथा प्रक्रिया पूरा गरी करिब २०० जनालाई प्रस्थान तथा प्रवेशपत्र उपलब्ध गराइएको हो ।

लामो दूरी र भौगोलिक कठिनाइका कारण जिल्ला सदरमुकामसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता रहेका स्थानीयका लागि गाउँमै सेवा उपलब्ध गराउँदा सहज भएको स्थानीयको भनाइ छ ।

डोल्पाको उत्तरी क्षेत्रमा चीनसँग जोडिएका सीमावर्ती बस्तीका नागरिकको जीवनयापन सीमापारि हुने आवतजावतसँग समेत जोडिएको छ । विशेषगरी सीमावर्ती क्षेत्रमा रहेका नागरिकले दैनिक उपभोग्य सामग्री, व्यापारिक गतिविधि तथा आफन्तसँगको भेटघाटलगायतका कामका लागि नियमित रूपमा सीमावर्ती क्षेत्रसम्म पुग्नुपर्ने अवस्था रहँदै आएको छ ।

प्रस्थान तथा प्रवेशपत्र वितरणले सीमावर्ती क्षेत्रका नागरिकको आवतजावतलाई कानुनी तथा प्रशासनिक रूपमा व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय तह र जिल्ला प्रशासनबीचको समन्वयबाट सेवा प्रवाहलाई नागरिकको पहुँचसम्म पु¥याउन सकिने उदाहरणका रूपमा समेत यस कार्यक्रमलाई हेरिएको छ ।

शे–फोक्सुण्डो गाउँपालिकाले सीमा क्षेत्रका नागरिकलाई आवश्यक प्रशासनिक सेवा सहज रूपमा उपलब्ध गराउन आगामी दिनमा पनि जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनका कर्मचारी तथा सम्बन्धित क्षेत्रका नागरिकको सहभागिता रहेको थियो ।