हिजो हुन नसकेको मतदान आज:मतगणना पनि हुने

  • Clock icon
    २०८३ आश्विन २३, शुक्रबार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हिजो बिहीबार मतदान हुन सकेन। बिहीबार बिहान सात बजेबाट मतदानको कार्यतालिका थियो। तर, बिहान १०, दिउँसो १ र २ बजे गरी तीन पटक मतदान तालिका सारेको कांग्रेस निर्वाचन समितिले आज शुक्रबार बिहान मतदान हुने बतायो।

खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान सुरू गर्दा राति मतदातालाई कठिन हुने भएकाले आज शुक्रबार बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाइ भएको बताए। शुक्रबार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुने उनको भनाइ छ। उनका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ कायम गरिएको छ।

‘२९७ पदका लागि ८५० जना प्रत्यासी हुनुहुन्छ। उहाँहरूको वैधानिक परीक्षण गर्दा लामो समय लाग्यो। त्यसपछि दाबी विरोधको समय दिइएको थियो। उम्मेदवारलाई मनोनयन पत्र सच्याउने मौका पनि दिएका थियौँ,’ उनले भने, ‘उम्मेदवारको संख्या र कांग्रेस विधानमा भएको पदहरूको वर्गीकरणलाई मिलाउँदाको अवस्थामा कम्तीमा पनि हामीले २३ वटा मतपत्र डिजाइन गर्नुपर्ने भयो।’

अस्ति बुधबार राति ११ बजे मात्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मतपत्र छपाइका लागि छापामा पठाइएको उनको भनाइ छ। यस्तै, निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले मतपत्र छपाइमा ढिला हुँदा मतदान कार्यक्रम सारिएको जानकारी दिए ।

‘करिब २७० मतपत्र छपाइ गर्नु पर्ने अवस्था छ। बिहीबार साँझसम्म मतपत्रको नमुना छापिएर आइसकेको छ। छापाबाट मतपत्र छपाइ गरेर आइसकेपछि त्यसमा मैले हस्ताक्षर गर्नुपर्छ,’ खड्काले भने।

मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको उनको भनाइ छ।

‘सबै काउन्टरमा तीन–तीन जनाका दरले ५ सय जनाको भोलेन्टियर कार्ड बाँडेको छु। म्यानपावर तयार छ। तर, निर्वाचन निष्पक्ष, धाँधलीरहित हुनुपर्छ भन्ने पक्षमा छु। त्यसैले रातिभन्दा भोलि बिहान मतदान गर्न राम्रो हुन्छ भनेर सारिएको हो,’ खड्काले भने।

मतदान दबाबमा नसारिएको खड्काको दाबी
महाधिवेशन स्थलमा सभापति गगन थापाले आफू अनुकूलको टिम ल्याउने वातावरण निर्माणका लागि मतदान कार्यक्रम सारिएको प्रश्न उठिरहेका बेला निर्वाचन सार्न पार्टी नेतृत्वबाट दबाब नआएको उनको भनाइ छ।

‘कानुन विपरीतको कुरा मैले कसैले भने पनि मान्दिनँ। कसैले जबरजस्ती गरे पनि मान्ने कुरा छैन,’ उनले भने, ‘पार्टी सभापतिले त राति नै भए पनि गर्नु भन्नुभएको थियो। तर, धाँधलीको प्रश्न उठ्यो भने मेरो जिम्मेवारीको विषय हो। शुक्रबार बिहान मतदानको समय तोक्ने कुरामा कुनै खोट छैन।’

डिजिटल मतदानमा पनि समस्या देखिने गरेको भन्दै कागजी मतदान गर्न लागिएको खड्काको भनाइ छ।

यद्यपि कांग्रेस सभापति थापा भने वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र केही निवर्तमान पदाधिकारीसँग होटलमा आन्तरिक छलफलमा थिए। बुधबार बन्दसत्र सकिएपछि बिहीबार थापा महाधिवेशन स्थलमा देखिएनन्। थापाले सर्वसम्मतिका लागि प्रयास गरिरहेकाले महाधिवेशन प्रतिनिधिमा मतदान नहुने आशंका कायमै छ।

तीन समूहमा मतदान, आजै मतगणना
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’, कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिका लागि खुलामञ्च, मतदान केन्द्र ‘ख’ र गण्डकी प्रदेशका प्रतिनिधिका लागि हिमाल हलमा मतदान गर्ने व्यवस्था गरिएको छ।

यस्तै मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेस हल, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिका लागि पहाड हलमा मतदान गर्ने व्यवस्था गरिएको छ। मतदान पछि आजै मतगणना हुने निर्वाचन समितिले दाबी गरेको छ ।