ललितपुर । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको किस्ट अंग प्रत्यारोपण केन्द्रले पाँच वर्षीया बालिकाको सफल जीवित दाता कलेजो प्रत्यारोपण गरेको छ । गम्भीर विल्सन रोगबाट पीडित बालिकाको सफल प्रत्यारोपणपछि उनको स्वास्थ्य अवस्था स्थिर र सन्तोषजनक रहेको अस्पतालले जनाएको छ ।
विल्सन रोगका कारण कलेजोमा गम्भीर समस्या देखिएपछि बालिकालाई किस्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उक्त रोग दुर्लभ आनुवंशिक समस्या हो, जसका कारण शरीरका महत्वपूर्ण अंगहरूमा तामाको मात्रा अत्यधिक जम्मा हुने गर्छ ।
बालिकाको अवस्था गम्भीर रहेकाले चिकित्सकहरूले करिब एक महिनासम्म सघन उपचार, विभिन्न विशेषज्ञको समन्वयमा स्वास्थ्य व्यवस्थापन तथा आवश्यक तयारी गरेका थिए । स्वास्थ्य अवस्था स्थिर भएपछि बहुविशेषज्ञ चिकित्सकको टोलीले जीवित दाताबाट कलेजो प्रत्यारोपण गर्ने प्रक्रिया अघि बढाएको थियो ।
बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको एक भाग छोरीलाई दान गरेकी थिइन् । आमाबाट प्राप्त कलेजोको अंश बालिकामा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो ।
शल्यक्रियापछि आमा र छोरी दुवैलाई विशेषज्ञ चिकित्सकको निगरानीमा आवश्यक उपचार तथा सघन शल्यक्रियापछिको हेरचाह प्रदान गरिएको थियो । चिकित्सकका अनुसार बालिकाको स्वास्थ्य अवस्था हाल स्थिर तथा सन्तोषजनक रहेको छ । स्वास्थ्यमा सुधार भएपछि उनलाई अस्पतालबाट सुरक्षित रूपमा घर पठाइएको छ ।
किस्ट अस्पताल प्रशासनले यो सफलता केवल शल्यक्रियात्मक उपलब्धि मात्र नभई आमाको त्याग, परिवारको आशा र चिकित्सकीय टोलीको समर्पणसँग जोडिएको नयाँ जीवनको कथा भएको जनाएको छ ।
बालबालिकामा कलेजो प्रत्यारोपण आधुनिक चिकित्सा क्षेत्रमा अत्यन्त जटिल उपचारमध्ये एक मानिन्छ । यसका लागि सूक्ष्म शल्यक्रियात्मक दक्षतासँगै बाल सघन उपचार सेवा, विशेषज्ञ चिकित्सकहरूको समन्वय तथा प्रत्यारोपणपछिको विशेष निगरानी आवश्यक हुन्छ ।
किस्ट अंग प्रत्यारोपण केन्द्रले नेपालमै मिर्गौला तथा कलेजो प्रत्यारोपणको एकीकृत सेवा सञ्चालन गर्दै आएको छ । अस्पतालका अनुसार निजी क्षेत्रबाट नेपालमा एकीकृत मिर्गौला तथा कलेजो प्रत्यारोपण कार्यक्रम स्थापना गर्ने पहिलो अस्पतालका रूपमा केन्द्रले आधुनिक शल्यक्रिया पूर्वाधार, विशेषज्ञ जनशक्ति तथा बहुविशेषज्ञ उपचार प्रणालीको विकासमा निरन्तर लगानी गर्दै आएको छ ।
नेपालमै जटिल तथा उच्चस्तरीय कलेजो प्रत्यारोपण सेवा सफलतापूर्वक सञ्चालन हुनुले उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ । केन्द्रले आगामी दिनमा बालबालिकासम्बन्धी बहुविशेषज्ञ सेवा तथा अंग प्रत्यारोपण क्षमतालाई थप विस्तार गर्ने योजना समेत अघि सारेको जनाएको छ ।
यस सफल प्रत्यारोपणले नेपालमै बालबालिकाको जटिल कलेजोसम्बन्धी उपचार तथा अंग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै गएको चिकित्सकीय क्षमता र पूर्वाधारलाई थप बलियो बनाएको छ ।
