काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीको १५ औँ महाधिवेशन बिभाजनको नभइ एकताको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै पार्टीभित्र देखिएका वाद विवाद, मनमुटाव र बाँकी रहेका असहमतिका बुँदालाई पनि घमण्ड र अहङ्कार त्यागेर सबै पक्ष लचक बनेर पार्टी एकताको पक्षमा सहमति र सहकार्य गरेर अगाडि बढ्दा मात्रै एकता महाधिवेशनको अर्थ रहने उल्लेख गरेका छन् ।
नेता शाहीले महाधिवेशनमा सबै पक्षको सहभागिता र निष्पक्षताको सुनिश्चितता बिना एकपक्षीय ढङ्गले गरिने महाधिवेशनको कुनै औचित्य नरहनेपनि ठोकुवा गरेका छन् ।
‘महाधिवेशन भनेको एउटा पर्व, एउटा उत्सव र नेतृव परिवर्तनको एउटा अवसर हो। तर वर्षौदेखि कुरिरहेका जिल्लाका नेताहरुलाइ जिल्ला अधिवेशनमा नेतृव परिवर्तन गर्न बन्देज लगाउने अनि प्रदेश अधिवेशन गर्न रोक लगाउने निर्णय गैरलोकतान्त्रिक र बिधानको ठाडो उल्लंघन हो,’ उनले अगाडि भनेका छन्,‘जिल्ला र प्रदेशमा परिवर्तन नचाहिने तर आफु हुने केन्द्रको पदमा मात्रै परिवर्तन चाहिने, यो कस्तो अनौठो तरिका हो ? त्यसैले जिल्ला र प्रदेश अधिवेशन बिना हतार हतार कागजी महाधिवेशन गरेर विशेष महाधिवेशनमा पार्टी कब्जा गरेजस्तै अहिले पनि आफ्ना गुटका मान्छे मात्रै जम्मा गरेर दुइचार दिन हल्लाखल्ली गर्नुको कुनै अर्थ रहन्न।’
त्यस्तै, नेता शाहीले सबैलाइ सहमतिमा ल्याएर एकताको महाधिवेशन गर्नुको साटो मनोमानी ढङ्गले एकलकाटे तरिकाले कर्मकाण्डी महाधिवेशनको ढोल मच्चाउनु भनेको नेपाली कांग्रेसलाइ थप कमजोर, क्षतविक्षत, छिन्नभिन्न र आजसम्म बचेको कांग्रेसको इतिहास लाइ पनि समाप्त पार्नु हो।’
यता, कांग्रेसको संस्थापन पक्षले १५औँ केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन सारेर नयाँ तालिका सार्वजनिक गरेको हो ।
नयाँ तालिकाअनुसार, पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय गरिएको छ । त्यस्तै, इतर पक्षले पनि अलग्गै महाधिवेशनको प्रक्रिया शुरु गरिसकेको छ ।
