इनम सापकोटासँग जोडिएका प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानबिन गर्न नेपाल बारको माग तर डा. मनोज भन्छन् : आफ्नो कुनै चिनजान छैन

  • Clock icon
    २०८३ कार्तिक १३, बिहीबार

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनले बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएका प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ।

हाल अनुसन्धानको क्रममा हिरासतमा रहेका इनम सापकोटासँग न्यायाधीश हरि फुयाल र प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडेर म्यासेज सार्वजनिक भएका छन्।

बारले आज बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबिच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी विवरण विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएका छन्। त्यसैगरी, प्रधान न्यायाधीशसमेतलाई जोडेर समाचारहरू प्रकाशित भएका छन्। सार्वजनिक भएका यी विवरणले गम्भीर सार्वजनिक चासो उत्पन्न गरेको छ।’

न्यायपालिकाको उच्च नेतृत्व तथा न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सार्वजनिक रूपमा गम्भीर प्रश्न उठेपछि त्यसलाई केवल सञ्चारमाध्यममा आएको समाचारका रूपमा सीमित राख्नु पनि उचित नहुने बारले भनेको छ।

‘यस्तो संवेदनशील विषयका सम्बन्धमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन हुन आवश्यक छ। सञ्चार माध्यममा आएको न्यायपालिकासँग सम्बन्धित अति संवेदनशील समाचारसँग सम्बन्धित पदीय व्यक्तित्वहरूले आ–आफ्नो आचार संहितामा रहन आवश्यक देखिन्छ, साथै उच्च पदस्थ पदाधिकारीले उच्च नैतिकता प्रदर्शन गर्न अपरिहार्य भएको समयको माग रहेको छ’, बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

बारले सम्बन्धित सबै सक्षम निकायलाई सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, कानूनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परवाह नगरी कानूनबमोजिम आवश्यक कारबाही गर्न माग गरेको छ।

आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्टता प्रदान गर्न पनि बारले भनेको छ।

यसैबीच प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले इनम सापकोटासँग जोडिएका प्रसंगहरूबारे आफ्ना धारणा सार्वजनिक गर्दै उनीसँग कुनै सम्पर्क र चिनजान नरहेको दाबी गरेका छन् ।

उनीसँगको संवादबारे समाचारहरू प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माले त्यस्ता कुरामा सत्यता नरहेको उल्लेख गरेका छन् ।