पुनरुत्थान कार्ययोजना ल्याएसँगै नेप्सेमा उछाल, सवा ८ अर्बको कारोबार

काठमाडौं । सरकारले सेयर बजारको सुधार तथा पुनरुत्थानका लागि सरकारले २१ बुँदे पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना ल्याएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६ सय ३३.६२ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको घटेको छ ।

आज नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लास छाएको छ । मंगलबार ८ अर्ब २९ करोड १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

मंगलबार सबैभन्दा धेरै कमाउनेमा धौलागिरी लघुवित्तका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य १४.९६ प्रतिशतले बढेर १ हजार १ सय १९ रुपैयाँ पुगेको छ । आज सबैभन्दा धेरै कारोबार हुनेमा रिलायन्स स्पिनिङ्ग मिल्स रहेको छ । यसको ३२ करोड ७० लाख ७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।