काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्काल नबढाउने निर्णय गरेको छ। इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि निगमले उपभोक्तालाई थप भार नपर्ने गरी हाल कायम रहेको मूल्य नै यथावत् राख्ने निर्णय गरेको हो।
निगमले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ।
खरिद मूल्य बढे पनि भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले भदौ ३१ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको हाल कायम खुद्रा बिक्री मूल्य नै कायम राख्ने निर्णय गरेको हो।
१५ दिनमा करिब दुई अर्ब घाटा हुने
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा स्वचालित मूल्य समायोजन नगरी हालकै मूल्य कायम राख्दा आगामी १५ दिनमा निगमलाई करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।
निगमले यसअघि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावका आधारमा स्वचालित रूपमा खुद्रा बिक्री मूल्य समायोजन गर्दै आएको थियो। तर, पछिल्लो समय भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न कठिन परिस्थितिलाई मध्यनजर गर्दै यसपटक मूल्य वृद्धि नगर्ने निर्णय गरिएको जनाएको छ।
यस निर्णयसँगै अन्तर्राष्ट्रिय बजार तथा खरिद मूल्यमा वृद्धि भए पनि तत्कालका लागि त्यसको भार उपभोक्तामाथि नथपिने भएको छ। निगमले विपद्पछिको असहज अवस्थालाई ध्यानमा राखेर हाल कायम रहेको खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको जनाएको छ।
