नेपाली उपभोक्तामाथि महँगीको दबाब एक वर्षमै तीव्र रूपमा बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको साउन महिनामा १.६८ प्रतिशत रहेको मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा ४.२८ प्रतिशत बिन्दुले बढेको छ। दरलाई गुणात्मक रूपमा हेर्दा गत वर्षको तुलनामा यस वर्ष मुद्रास्फीति ३.५५ गुणा पुगेको छ।
महँगीको सबैभन्दा ठूलो दबाब खाद्य तथा पेय पदार्थमा देखिएको छ। साउनमा यस समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो।
खाद्य वस्तुमध्ये घ्यू तथा तेलको मूल्य १५.६२ प्रतिशतले बढेको छ। फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि ५.५२ प्रतिशत पुगेको छ। यस समूहमा यातायातको मूल्य १३.१७ प्रतिशतले बढेको छ। मदिराजन्य पेय पदार्थको मूल्य ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ४.९७ प्रतिशतले बढेको छ।
महँगीको असर ग्रामीण क्षेत्रमा अझ बढी देखिएको छ। साउनमा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.१८ प्रतिशत रहेको छ भने सहरी क्षेत्रमा ५.८८ प्रतिशत रहेको छ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा महँगी सबैभन्दा उच्च ६.९४ प्रतिशत रहेको छ भने सुदूरपश्चिममा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ। क्षेत्रगत रूपमा तराईमा ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत, हिमालमा ५.१० प्रतिशत र काठमाडौं उपत्यकामा ४.८१ प्रतिशत मुद्रास्फीति रहेको छ।
उता थोक बजारमा पनि मूल्यवृद्धिको दबाब झन् तीव्र देखिएको छ। साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा २.३७ प्रतिशत रहेको थियो।
