कालु कुमालेलाई जीवित सम्पदाका रूपमा सम्मान गर्ने सरकारको तयारी थियो : मन्त्री पौडेल

मंगलबार निधन भएका क्रोधकला शिरोमणि अग्रज कलाकार कालु कुमालेप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । धातुका विशालकाय क्रोधित देवताको मूर्तिकला बनाएर प्रख्यात क्रोधकला शिरोमणि कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो ।

प्रतिष्ठानका पदाधिकारीहरूले राष्ट्रिय झण्डा ओढाएर कुमालेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कलाकारहरूले पनि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैगरी पर्यटन मन्त्री तथा सांसदहरु समेत अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा पुगेका थिए ।

श्रद्धाञ्जली अर्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले अग्रज कलाकार कालु कुमालेको निधनले समग्र नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

उनले भने, ‘प्रस्तरकला शिरोमणिका रूपमा परिचित कालु कुमालेजीको देहावसानले हामी अत्यन्त मर्माहत भएका छौं । सरकारले उहाँलाई जीवित सम्पदाका रूपमा सम्मानित गर्ने तयारीस्वरूप विधेयकलाई अन्तिम चरणमा पुर्याएको थियो र सोहीअनुसार आवश्यक प्रावधान र प्रक्रियाहरू पनि अघि बढाइएको थियो ।’

मन्त्री पौडेलले प्रस्तरकला नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै कुमालेले भगवान्का मूर्तिहरू बनाएर ईश्वरकै निर्माण गरेको स्मरण गरे ।