एनएमबि बैंक र इसिमोडबीच हरित वित्तमा सहकार्य

  • Clock icon
    २०८३ आश्विन ९, शुक्रबार

काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच नेपालमा दिगो तथा जलवायु–उत्थानशील विकास प्रवर्द्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

रणनीतिक साझेदारीअन्तर्गत वैज्ञानिक अनुसन्धान, प्राविधिक ज्ञान र हरित बैंकिङलाई एकीकृत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धिका लागि दिगो लगानीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

यस सहकार्यले नेपालमा हरित वित्तलाई थप प्रभावकारी, प्रविधिमैत्री र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।

समझदारीअनुसार इसिमोडको लामो समयदेखिको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबि बैंकको बैंकिङ विशेषज्ञता र वित्तीय पहुँचसँग जोडिनेछ। विज्ञानमा आधारित अनुसन्धानलाई व्यावहारिक वित्तीय योजनासँग जोडेर वातावरण संरक्षणसँगै नवीन तथा हरित व्यवसायमा लगानीको पहुँच विस्तार गर्ने वातावरण तयार गरिनेछ।

सहकार्यका क्रममा वातावरण संरक्षण र नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा नयाँ तथा दिगो लगानीका अवसर पहिचान गरिनेछ। त्यस्तै, जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्दै स्थानीय समुदायको जलवायु अनुकूलन क्षमता र उत्थानशीलता बढाउने पहल गरिनेछ।

वातावरणमैत्री परियोजनाको सम्भाव्यता अध्ययन तथा प्राविधिक सहयोगमा समेत सहकार्य गरिनेछ। प्रकृतिमैत्री आर्थिक गतिविधिलाई प्रोत्साहन गर्दै दीर्घकालीन तथा दिगो आर्थिक विकासका लागि आधार तयार गर्ने उद्देश्य पनि समझदारीमा समेटिएको छ।

एनएमबि बैंकले लामो समयदेखि नेपालमा दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै आएको जनाएको छ। वातावरणमैत्री तथा जिम्मेवार वित्तीय अभ्यासलाई निरन्तर अघि बढाउँदै आएको बैंकले इसिमोडसँगको सहकार्यबाट हरित वित्तप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालजस्तो पर्वतीय मुलुकका लागि विज्ञान र वित्तीय क्षेत्रबीचको यस्तो सहकार्य महत्वपूर्ण मानिएको छ। यसबाट स्थानीय तहमा जलवायु–उत्थानशील जीविकोपार्जनका अवसर सिर्जना हुनुका साथै प्राकृतिक स्रोतसाधनको दिगो व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, बैंकिङ क्षेत्रमा हरित लगानीसम्बन्धी नयाँ मापदण्ड तथा मोडल विकास गर्नसमेत यो साझेदारीले आधार तयार गर्ने विश्वास लिइएको छ।

एनएमबि बैंक र इसिमोडबीचको समझदारीले नेपालमा विज्ञान, वित्तीय क्षेत्र र दिगो विकासबीचको सहकार्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। हरित वित्तमार्फत वातावरण संरक्षण र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने यो पहलले नेपालको दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

  • Clock icon
    २०८३ आश्विन ९, शुक्रबार