काठमाडौं । कृषि विकास बैंक लिमिटेड (एडीबीएल) का ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत नेपाल र भारतबीच प्रत्यक्ष व्यक्ति–व्यक्ति (पीटुपी) रकम स्थानान्तरण गर्न सक्ने भएका छन्। नेपाल र भारतका डिजिटल भुक्तानी प्रणालीलाई जोडेर सुरु गरिएको यो सेवाले सीमापार रकम पठाउने तथा प्राप्त गर्ने प्रक्रियालाई थप सहज, छिटो र डिजिटल बनाउने उद्देश्य राखेको छ।
एडीबीएल मोबाइल बैंकिङमार्फत उपलब्ध यो सेवा नेपालको राष्ट्रिय भुक्तानी इन्टरफेस (एनपीआई) र भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) बीचको अन्तरसम्बन्धमा आधारित छ। यसबाट ग्राहकले परम्परागत कागजी प्रक्रिया तथा जटिल बैंकिङ प्रक्रियाबिना मोबाइल एपबाटै सीमापार रकम स्थानान्तरण गर्न सक्नेछन्।
सेवामार्फत रकम प्राप्तकर्ताको बैंक खातामा प्रत्यक्ष पठाउन सकिने व्यवस्था गरिएको छ। रकम स्थानान्तरण चौबीसै घण्टा, सातै दिन वास्तविक समयमै गर्न सकिने र रकम केही सेकेन्डमै प्राप्तकर्ताको खातामा पुग्ने व्यवस्था रहेको जनाइएको छ।
यस सेवाको अर्को विशेषता भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) वा यूपीआई आईडीको प्रयोग हो। रकम पठाउन लामो बैंक खाता नम्बर वा स्विफ्ट कोड प्रविष्ट गर्नुपर्ने आवश्यकताको सट्टा प्राप्तकर्ताको यूपीआई आईडी वा भीपीए प्रयोग गर्न सकिनेछ। उदाहरणका लागि name@upi जस्तो यूपीआई आईडी प्रयोग गरेर रकम पठाउन सकिनेछ।
एडीबीएलका ग्राहकले घरबाटै मोबाइल बैंकिङ एप प्रयोग गरी कारोबार गर्न सक्नेछन्। सेवामा नेपालको नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको एनपीसीआईअन्तर्गतका आधिकारिक भुक्तानी प्रणालीमार्फत सुरक्षित डिजिटल कारोबारको व्यवस्था गरिएको जनाइएको छ।
कारोबारको सीमा
नेपालबाट भारततर्फ रकम पठाउँदा एक कारोबारमा अधिकतम १५ हजार भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ। त्यस्तै, भारतबाट नेपालतर्फ रकम प्राप्त गर्दा एक कारोबारमा अधिकतम २ लाख भारतीय रुपैयाँसम्मको सीमा तोकिएको छ।
यस सेवामा भर्चुअल पेमेन्ट एड्रेस तथा दर्ता भएको मोबाइल नम्बरलाई पहिचानका माध्यमका रूपमा प्रयोग गर्न सकिनेछ। पारिवारिक सहयोग, व्यक्तिगत बचत तथा स्वीकृत अन्य रेमिट्यान्स प्रयोजनका लागि सेवा प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
कसरी पठाउने रकम ?
एडीबीएल मोबाइल बैंकिङमार्फत नेपालबाट भारत रकम पठाउन ग्राहकले पहिलोपटक एकपटकको सहमति प्रदान गर्नुपर्नेछ। त्यसका लागि मोबाइल बैंकिङ एपमा लगइन गरी ‘क्रस बोर्डर ट्रान्सफर’ विकल्पमा गएर नियामकीय व्यवस्थाअनुसार आवश्यक सहमति दिनुपर्नेछ।
त्यसपछि फन्ड ट्रान्सफरमा गई क्रस बोर्डर फन्ड ट्रान्सफर (नेपाल–भारत) विकल्प छनोट गर्नुपर्नेछ।
प्राप्तकर्ताको विवरण राख्ने क्रममा उनको यूपीआई आईडी वा भर्चुअल पेमेन्ट एड्रेस र पूरा नाम प्रविष्ट गर्नुपर्नेछ।
त्यसपछि पठाउन चाहेको रकम नेपाली रुपैयाँमा प्रविष्ट गर्नुपर्नेछ। एपले सो रकम बराबरको भारतीय रुपैयाँ र लागू हुने शुल्कसम्बन्धी विवरण स्वतः देखाउने व्यवस्था गरिएको छ। ग्राहकले रकम पठाउनुको उद्देश्यअनुसार सम्बन्धित प्रयोजन कोडसमेत छनोट गर्नुपर्नेछ।
अन्तिम चरणमा कारोबारको सम्पूर्ण विवरण जाँच गरी ट्रान्जेक्सन पिन वा बायोमेट्रिक प्रमाणीकरणमार्फत कारोबार स्वीकृत गरेपछि रकम स्थानान्तरण पूरा हुनेछ।
यस सेवाले नेपाल–भारतबीच हुने व्यक्तिगत रकम स्थानान्तरणलाई मोबाइलमै केन्द्रित गर्दै सीमापार भुक्तानी प्रक्रियालाई थप डिजिटल, सहज र छिटो बनाउने अपेक्षा गरिएको छ।
