‘चमेलीको पोइ’ हेर्न बसेपछि अढाइ घण्टा वितेको पत्तो हुँदैन

सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘चमेलीको पोइ’ आज असोज १६ गते अर्थात् अक्टोबर २ देखि देशभर प्रदर्शनमा आएको छ।

हास्यप्रधान तथा पारिवारिक कथावस्तुमा निर्माण गरिएको चलचित्रमा मुकुन भुसाल र सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

धनलक्ष्मी सिने मेक्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् ।

चलचित्रमा नारायण त्रिपाठी, विल्सनविक्रम राई, प्रेमदेव गिरी, रवीन्द्र झा, गणेश गौतम, अंशु महर्जन, तारा शर्मा, रजनी गुरुङ, बबिन राई, उमेश राई (फुलन्देको आमा) तथा खड्कबहादुर पुनमगर (खबपु) लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र निर्माणमा पहिलोपटक सहभागि भएका निर्माता देखि सम्लग्न व्यक्ति खुसी देखिन्छन् । चलचित्र निर्माणको सुरुदेखि नै निर्देशक तथा टीमसँग नजिक रहेर काम गरेकाले निर्माण प्रक्रिया निर्मातालाई नयाँ भए पनि सकारात्मक अनुभव बनेको छ ।

इन्जिनियरिङ पृष्ठभूमिका निर्माताका लागि चलचित्र निर्माण प्राविधिक हिसाबले नयाँ क्षेत्र भएपनि परियोजना व्यवस्थापनको अनुभवले काम गर्न सहज भएको छ । चलचित्र निर्माणका क्रममा क्यामरा, लोकेसन छनोट, कलाकार चयन, स्क्रिप्ट तथा सुटिङ प्रक्रियाजस्ता विषय नयाँ अनुभव बने ।

कुनै प्रोजेक्टका लागि मेटेरियल प्रोक्योरमेन्ट, प्लानिङ, मनीलगायतका विषय हुन्छन ।

सुनीता सापकोटासँग नेपालमा चलचित्र निर्माण गर्ने पहिलेदेखिको इच्छा थियो । निर्देशक सूर्य बोहरासँग करिब १५–२० वर्ष पुरानो पारिवारिक सम्बन्ध रहेको र बोहराले सुनाएको स्क्रिप्टपछि चलचित्र निर्माणको योजना अघि बढेको हो ।

सूर्य बोहराले ‘कान्छी’, ‘ठूली’ र ‘अग्निपरीक्षा’ लगायतका चलचित्र निर्देशन गरिसकेको स्मरण गर्दै उपाध्यायले निर्देशकप्रतिको विश्वासका कारण पनि परियोजना अघि बढेको भन्नेमा दुईमत छैन ।

चलचित्रको कथावस्तु पारिवारिक सम्बन्ध, घरेलु झगडा तथा हास्य घटनाक्रममा आधारित रहेको निर्माण पक्षको दाबी छ । पति–पत्नीबीच हुने सामान्य विवाद, पारिवारिक परिस्थितिमा उत्पन्न हुने हास्य तथा भावनात्मक घटनालाई कथाको आधार बनाइएको छ ।

नेपाली चलचित्रको संख्या बढेसँगै दर्शक पनि छनोटमा सचेत भएको बताए । त्यसैले दर्शकलाई मनोरञ्जनसँगै भावनात्मक रूपमा जोड्ने प्रयास चलचित्रमा गरिएको देखिन्छ ।

‘पहिले फिल्म कम बन्थे, फिल्म हेर्न दर्शकहरू मजबुर हुन्थे । अहिले धेरै फिल्म बन्नथाले, दर्शकहरू पनि चुजी भए । तर कमेडी जनराको फिल्म नयाँ स्वादमा रहेकाले सबैखाले दर्शक हलमा पुग्नेछन् । कमेडी, इमोसन र एउटा पारिवारिक शिक्षामुलक फिल्म भएकाले धेरैले रुचाउनेछन् ।’

‘चमेलीको पोइ’ कमेडी विधामा केन्द्रित भए पनि पारिवारिक विषयवस्तुलाई प्राथमिकतामा राखिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा दर्शकले आफ्नो घरपरिवारमा देख्ने तथा भोग्ने सामान्य घटनालाई हास्य शैलीमा प्रस्तुत गरिएको छ ।

चलचित्रमा नारायण त्रिपाठीको सहभागिताबारे पनि उपाध्यायले निर्देशक सूर्य बोहरासँग रहेको पुरानो सम्बन्धलाई मुख्य कारणका रूपमा प्रस्तुत गरे ।

बोहराले स्क्रिप्टमा रहेको एउटा भूमिकाका लागि नारायण त्रिपाठी उपयुक्त हुने बताउँदै आएको र स्क्रिप्ट तयार भएपछि प्रस्ताव गरिएको हो । त्यसपछि त्रिपाठीले भूमिका स्वीकार गरेर चलचित्रमा काम गरेको प्रष्ट देखिन्छ ।

‘चमेलीको पोइ’का केही प्रदर्शन अमेरिकामा समेत भइसकेका छन् । अमेरिकामा चार–पाँचवटा शो भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको हो।

चलचित्र निर्माणमा कम बजेट र सक्षम निर्देशकको भूमिकाबारे पनि स्पष्ट छ। राम्रो स्क्रिप्ट, उपयुक्त निर्देशक र कलाकार छनोटले चलचित्र निर्माणलाई व्यवस्थित बनाउन सहयोग गर्छ ।

दर्शकलाई चलचित्र हलसम्म आएर हेर्न आग्रह गर्दै सबैले गर्छन् । तर मेहनत गरेर नयाँ शैलीको कमेडी फिल्म निर्माण गरेको दाबी मात्र हो कि साच्चिकै ?

धेरै मेहनत गरेर फरक कमेडी जनराको फिल्मको प्रचार भएपनि आजदेखि हलमा पुगेर हेर्दा, सपोर्ट, माया मात्र होइन गाली र सुझाब पनि स्विकार गर्नुपर्छ । तर अढाई घन्टा वितेको पत्तो हुनेछैन् भन्ने निर्माण पक्षको दाबी छ ।

निर्माण पक्षले ‘चमेलीको पोइ’ पछि नयाँ चलचित्रका लागि पनि तयारी अघि बढिरहेको जनाएको छ । नयाँ परियोजनाका लागि एक–दुईवटा विषय अन्तिम चरणमा पुगेका छन् ।

ती विषय टुंगो लागेपछि छिट्टै घोषणा गरिने निर्माण पक्षले उल्लेख गरेको छ । तर आजदेखि हलमा पुग्ने दर्शको प्रतिक्रिया बुझ्न पनि आवश्यक नभएको होइन ।