सुरुङमार्गमा स्टन्ट गर्ने २८४ चालक कारबाहीमा

  • Clock icon
    २०८३ आश्विन १६, शुक्रबार

नागढुङ्गास्थित सुरुङमार्गमा पटकपटक ट्राफिक नियम उल्लङ्घन गर्ने २८४ जना सवारी चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सुरुङमार्गभित्र लेन अनुशासन कायम नगर्ने, तीव्रगतिमा सवारी चलाउने, जथाभावी ओभरटेक गर्ने, अनावश्यक हर्न बजाउने तथा बाटो अवरोध गर्ने चालकलाई कारबाही गरिएको हो।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले सुरुङमार्ग सञ्चालनमा आएदेखि हालसम्म ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालकलाई कारबाहीको दायरामा ल्याइएको जानकारी दिए।

“सुरुङमार्गमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा सवारी चलाउन पाइन्छ। सोहीअनुसारको सूचना बोर्ड राखिएको छ। उक्त नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याइएको छ,” प्रवक्ता सुवेदीले भने।

सुरुङमार्गभित्र स्टन्ट गर्ने, अनावश्यक हर्न बजाउने, गलत तरिकाले ओभरटेक गर्ने र तीव्रगतिमा सवारी चलाउनेजस्ता गतिविधि हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

यस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउनुका साथै आकस्मिक अवस्थामा उद्धार कार्यसमेत प्रभावित हुनसक्ने प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सुरुङमार्ग प्रयोग गर्दा अन्य सडकको तुलनामा थप संवेदनशील भएर सवारी चलाउन चालकलाई आग्रह गरेको छ। सुरुङभित्र लेन अनुशासन कायम गर्ने, निर्धारित गतिको पालना गर्ने, अनावश्यक हर्न नबजाउने तथा ओभरटेक गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

यसैबीच, आज मात्रै सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले उनीहरूलाई कारबाही गरेको हो।