गोर्खाको बूढी गण्डकी नदीमा आकस्मिक रुपमा ठूलो बाढी आएको छ। बाढीले नदी आसपाका धेरै भौतिक संरचनामा क्षति गरेको छ।
चुमनुम्ब्री गाउँपालिका-६ मा आज बिहान आकस्मिक रुपमा आएको बाढी निकै ठूलो भएको स्थानीयले बताएका छन्। बाढीले सिर्दिवासस्थित जगत क्षेत्रमा घरहरु बगाएको छ।
चुमनुब्री गाउँपालिका–६ मा उग्युलुङ खोला थुनिएर अचानक बाढी आएको बताइएको छ। उग्युलुङ र स्यार खोलामा ठूलो आवाज सुनिएपछि स्थानीय बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ भागेका छन्।
गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आइतबार बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको जानकारी दिएका छन्।
चुमनुम्ब्री गाउँपालिका ६ मा पहिरोले थुनिएको खोला एकैपटक बग्दा ठूलो बाढी आएको चुमनुम्ब्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिएका छन्।
बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार क्षेत्रमा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले पनि बूढीगण्डकीमा आकस्मिक बाढी आएको भन्दै सतर्कता अपनाउन मोवाइलमा एसएमएस पठाएको छ।
