भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै

काठमाडौं । नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ १५० सीसी क्षमताको स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी असोज २६ गते ९अक्टोबर १२, २०२६० काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको हो।

नयाँ स्कुटर सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाका स्कुटरको सूचीमा थप एउटा मोडल थपिनेछ। विशिष्ट इटालियन डिजाइन, आकर्षक बनावट र फरक राइडिङ अनुभवका लागि परिचित भेस्पाले नयाँ मोडलमार्फत ग्राहकलाई थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।

डेल्टा अटोकर्प प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के। महतोले नयाँ मोडल सार्वजनिक गर्न लागेकोमा उत्साह व्यक्त गर्दै भेस्पाको विशिष्ट पहिचान र विरासतलाई नेपाली बजारमा थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।

उनका अनुसार भेस्पाले कालजयी इटालियन डिजाइन, व्यक्तित्व र विशिष्ट राइडिङ अनुभवलाई प्राथमिकता दिँदै आएको छ। नयाँ १५० सीसी मोडलको आगमनले नेपालमा भेस्पा परिवारमा अर्को सदस्य थपिने र ग्राहकले ब्रान्डका उत्पादनमध्ये थप विकल्प रोज्न पाउने उनले बताए।

कम्पनीका अनुसार नयाँ स्कुटरको औपचारिक सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि तथा शुभचिन्तकहरूको उपस्थिति रहनेछ। सोही अवसरमा स्कुटरका विशेषता, उपलब्धता तथा अन्य विवरण सार्वजनिक गरिनेछ।

डेल्टा अटोकर्पले आफ्नो वितरण सञ्जालमार्फत नेपालभर भेस्पाका स्कुटर उपलब्ध गराउँदै आएको छ। नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा ब्रान्डको उपस्थिति थप विस्तार गर्ने कम्पनीको अपेक्षा छ।