भिक्टर पौडेल, तिनै युवा हुन्, जसले बालेन साह र कुमार बेनलाई पहिलो भेट गराएका थिए । उनी रुटिन अफ नेपाल बन्दका संस्थापकसमेत हुन् ।
बालेन साह, काठमाडौं महानगरपालिकाको मेयर अर्थात स्वतन्त्र भूमिकामा रहँदासम्म उनको पक्षमा खुलेर लागे, लेखे-माहोल बनाए ।
जब उनी दलको झण्डामुनि पसे, तब आफैं दूरी बढ्दै गएको अनुभव छ, भिक्टरको । ब्रिज कोर्सको तयारीमा जुटिरहँदा नेपाल बन्द र लोडसेडिङले मुलुक आक्रान्त थियो ।
उज्ज्वल थापालगायतले नेपाल बन्दको विरोधमा विभिन्न कार्यक्रम र प्रदर्शन आयोजना गरिरहन्थे । बन्दको व्यंग्य गर्ने र बन्दविरोधी अभियानलाई साथ दिने मनशायअनुरूप ०६८ सालताका फेसबुकमा रुटिन अफ नेपाल बन्द नामक पेज शुरु गरेका थिए ।
नेपाल बन्द र लोडसेडिङको सूचना दिन भिक्टरले शुरु गरेको त्यही सोसल साइटले अढाइ दशकको अवधिमा लाखौं पाठक पाएको छ । तिनका लागि सूचनाको भरपर्दो स्रोत बनेको छ ‘आरओएनबी’ । सञ्चारमाध्यमहरूको भूमिका सदैव महाभारतको पात्र ‘बर्बरिक’को झैं तटस्थ र निष्पक्ष हुनुपर्ने धारणा राख्छन्, उनी । उनीसँगको कूराकानी-
० प्रधानमन्त्री बालेन साह र कुमार बेनहरूसँग मन टुटेको हो ?
– उहाँहरूसँगको मेरो सम्बन्ध न धेरै नजिक, न धेरै परको । कहिलेकाँही कुराकानी हुन्छ । सम्बन्ध बिग्रिएको छैन, धेरै राम्रो पनि छैन ।
० बालेन प्रधानमन्त्री बनेपछि भेटघाट छ -छैन ?
– सबैलाई समान र एकै नजरले हेर्दछु । उहाँहरू स्वतन्त्र हुँदा जसरी नजिक थियौं, कुनै दलसँग जोडिएपछि दूरी आफै बढ्दै गएको हो ।
सामाजिक सञ्जालमा हेर्दा नै देखिन्छ, बीचमा एउटा विवाद आए पछि कभरेज कम गरिसकेका थियौं । स्वतन्त्र रूपमा उठेकाहरूलाई पहिल्यैदेखि अलि बढी कभरेज गरेका हौं, बालेनलाई जत्तिकै स्थान हर्क साम्पाङ, गोपी हमाललाई पनि दिएका थियौं । बालेन साह काठमाडौंमा भएका कारण अलि बढी कभरेज भयो होला । जनतामा एक प्रकारको निराशा बीच आशाका किरणका रूपमा उहाँको उदय भयो । सोही अनुरुप साथ दियौं ।
सरकारी निकायहरूबाट अफिसियल निमन्त्रणा आउँदा बाहेक कुनै मन्त्री र प्रधानमन्त्रीलाई भेट्न गएको छैन ।
० तर, यहाँ बालेन साहको चुनावी सभामा भाग लिन झापा पुग्नुभयो, सँगै सफारी गर्न सौराहा पनि पुग्नुभयो । अहिले केमा हो चित्त दुखाइ ?
– खासमा म गणेश कार्कीलाई भेट्न मोरङ पुगेको थिएँ । कुमार बेनको ससुराली उर्लाबारी, त्यहाँ गएको हुँ । त्यहाँबाट भ्यु टावर हेर्न दमक गयौं । झापा जिल्ला चुनावी सर्भे गर्नेका लागि गएका थियौं । मसँगै मनोविज्ञ प्रज्ववल आचार्य थिए । त्यहाँ रोशन खड्का, लक्की सिटौला र विष्णु सापकोटासँग भेट भएको हो ।
० केही अगाडि ‘घण्टेहरू पनि झोलेको बाटोमा हिँडे’ भनेर सामाजिक सञ्जालमा तीतो पोख्ने स्थिति किन आयो ?
– कसैको अति भक्त हुनुहुँदैन । अतिले सर्वत्र खति निम्त्याउँछ । चाहे जो सुकैले गरोस्, गलत कुराको आलोचना हुनुपर्दछ भन्ने मान्यता बोक्छु । कांग्रेस, एमाले, माओवादी, रास्वपा सबै मेरो नजरमा एकै हुन् । घण्टीहरूले अरुलाई झोले भन्छ भने जेनजी आन्दोलनमा त्यत्रा बच्चा मरेर यो परिवर्तन ल्याइएको छ ।
खै त तिनको खास प्रतिनिधित्व रु पुराना राजनीतिक दलहरूकै तरिकाले चल्ने, नियुक्तिमा नातावाद, कृपावाद लगाउने हो भने भने नयाँ र पुरानामा के फरक भयो रु उहाँहरूको लोकप्रियता छ तर बलियो प्रतिपक्षी छैन । यस्तो अवस्थामा हामी प्रतिपक्षमा नबसे को बस्ने त ?
० डेढ दशकअगाडि नेपाल बन्द र लोडसेडिङको सूचना दिन शुरु गर्नुभएको रुटिन अफ नेपाल बन्द यति लोकप्रिय कसरी भयो ?
– आठ क्लासदेखि पत्रकारिताको अभ्यास गरें । सोसल मिडिया विकसित भइरहेको समय थियो । नेपाल बन्द र हड्तालले आक्रान्त थियो ।
बन्द हो कि होइन भन्ने सूचना थाहा नहुँदा धेरै यात्रुको बिचल्ली भएको देखेपछि एउटा प्लेट फर्म भए धेरैलाई सहज हुन्थ्यो कि भन्ने लागेर शुरु भएको पेज हो । त्यही बेलामा उज्ववल थापाहरूले एन्टी बन्दको कार्यक्रम आयोजना गर्नुभएको थियो ।
लोडसेडिङ र बन्दको अपडेट दिइरहँदा हामीप्रति विश्वास गर्नेहरू बढ्न थाले । बाइकको पछाडि बसेर लाइभ गरिरहेको हुन्थें । कोभिडपछि जब लकडाउन शुरु भयो मान्छेहरू घरमै थुनिए ।
सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढ्न थाल्यो । हामी नोटिस बोर्डको काम गरिरहेका हौं । तर एकदमै भेरिभाइ गरेर, क्रस चेक गरेर मात्र सूचना हाल्थ्यौं । कुनै पोस्ट गर्नुअघि मल्टिपल सोर्स (दुई वा दुईभन्दा बढी स्रोत) बाट पुष्टि गर्ने गरेका छौं । लाइक बटुल्नका लागि भ्रामक र सनसनीपूर्ण पोस्ट हामी गर्दैनौं । हो । कसैप्रति नकरात्मक छैनौं, सकेसम्म समाजमा सकारात्मक सन्देश दिने सामग्री प्रकाशन गर्दै आएका छौं ।
० मेन स्ट्रिमको मिडियाभन्दा बढी पत्याउने स्थिति कसरी बन्यो ?
– ४० प्लसप्रति विश्वास गर्ने स्थिति थिएन । धेरैले फेक सूचना हो भन्थें । हामीलाई केपी ओली, गगन थापा, प्रचण्ड, बालेन साहको झोले हो पनि भने । हाम्रो जोड अथेण्टिक सूचना प्रवाह गर्नमै केन्द्रित रह्यो । आरोप लगाउनेहरू गलत सावित हुँदै गए । हामी कोही कसैको प्रवक्ता हुँदैनौं, वास्तविक सूचनामात्र दिन्छौं ।
सिटिजन्स जर्नालिज्म बेसमा काम गरिरहेका छौं । पत्रकारहरू हायर गरेका छौं । नेपालमा अझैं पनि भेरिफिकेसनको समस्या छ । जस्तोः एसईईको नतिजा आउँदै छ । परीक्षा नियन्त्रकले भन्नुहुन्छ– आजै रिजल्ट आउँदैछ, प्रवक्तासँग सोध्दा थाहा छैन वा आज आउँदैन भन्ने जवाफ आउँछ ।
एकाथरी मन्त्री क्याबिनेटले यस्तो निर्णय गरेको छ भन्छन्, त्यही कुरा सरकारका प्रवक्तालाई सोध्दा थाहा छैन भनिदिन्छन् । सरकारी संयन्त्रले नै अथेण्टिक इन्फरमेसन दिँदैनन् भन्ने कुरा बुझेपछि कुनै पनि सूचना कम्तिमा तीन चारतिरबाट भेरिफाइ गर्दछौं । त्यही कारण आजसम्म चुकेका छैनौं ।
० बालेन साहको उदयमा रुटिन अफ नेपाल बन्दको हात कति त ?
– बालेनजी र हाम्रो सर्कल एउटै, टाइमिङ, फ्यान फलोइङ एकै प्रकारको, धेरै कुरा समान । उहाँ जेन्जीको प्रेरणाश्रोत जस्तै हुनुहुन्थ्यो र्यापका माध्यमबाट, हामी कण्टेण्टमा काम गरिरहेका थियौं । रुटिन अफ नेपाल बन्द ग्रो हुँदै गएको र बालेनको फलोअर्स बढ्दै गएको समय एकै भएको हुँदा त्यस्तो आक्षेप लागेको होला ।
जुन समय हामी ग्रोथ गर्दैथियौं, डिजिटल इरा शुरु भयो नेपालमा । सोही समयमा केशव स्थापित र सृजना सिंहको पनि उत्तिकै पोष्ट हाल्दथ्यौं । यद्यपि स्वतन्त्रलाई सपोर्ट गरेकै हो । महाविर पुनलाई पनि सहयोग गरेकै हो ।
० बालेन साह काठमाडौंको मेयर हुँदा यहाँको संस्था इस्पोस्र्टका लागि करोडौं बजेट छुट्टाइएको बिषय पनि बाहिरिएको थियो । यस्को वास्तविकता के हो ?
– इस्पोर्टसमा टुर्नामेण्ट गर्नका लागि भनेर काठमाडौं महानगरपालिकाले बजेट छुट्टाएको सुनिएको हो तर त्यो बजेट हाम्रोलागि थिएन । प्रतियोगिता भएको भए, प्रतिष्पर्धीमात्र चार– पाँच हजार हुन्थें । प्रतिष्प्रर्धामा जसले जित्छ, उसैले केही रकम हात पार्दथ्यो होला । त्यो कार्यक्रम भयो जस्तो लाग्दैन ।
मिडियाका साथीहरूले नबुझेरै बालेनले रुटिनेलाई करोडौं दिएको आरोप लगाए । जबकी हामीले आजसम्म सरकारी र मन्दिरको एक रूपैयाँ पनि लिएका छैनौं । हामीले सरकारी काम गरेको भनेको पर्यटन बोर्डको एउटा डकुमेण्ट्री बनाउँदा हो, त्यो पनि घाटा खाएर ।
० यो सरकार अल्गोरिदमले बनायो भन्नेहरूलाई के भन्नुहुन्छ ?
– कोही मान्छेले अल्गोरिदममा खेल्न सक्नु, त्यसलाई कण्ट्रोल गर्नु भनेको पावरफुल इकोनोमी हुनु हो । सिष्टम बुझ्नेहरूले मात्र यसमा खेल्न सक्छन् । समाजको सेण्टिमेण्ट सोसल मिडियामा हुन्छ । जस्तो स् गुगलमा सर्च इञ्जिन अप्टिमाइजेसन हुन्छ, त्यहाँ तपाइँका कन्टेण्ट कसरी टपमा आउँछ रु त्यही कारण रुटिन अफ नेपाल बन्दमा प्रयोग गर्ने शव्द एकदमै कमन शव्द हुन्छन् ।
० सरकारको ६ महिने कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
– सरकारले मिडियामा आएजस्तो ध्वस्त पारेको होइन, बबालै राम्रो गरेको पनि होइन । सिक्दै हुनुहुन्छ, नयाँ भएका कारण गल्तीमा डिस्काउण्ट भयो ।
० ६ महिनामा लोकप्रियताको ग्राफ उकालो लाग्यो कि ओरालो ?
– यो सरकारले प्राप्त गरेको मत भनेको ४५ प्रतिशत हाराहारी मात्र हो । ५५ प्रतिशतले मतदानै गरेनन् । अर्थात बहुमत सरकार विरुद्ध हुनुहुन्छ ।
० हिटलरले लोकप्रिय मत ल्याएका हुन, उनको दुखद पतन भयो । नेकपा, कांग्रेस, एमालेको सरकार होस् वा अहिले रास्वपा सरकारले पद, कुर्सी, जनमत अस्थायी चिज हुन् किन बुभ्न नसकेका होलान् भनेर ?
– आफ्नै आँखाले घागडान नेताहरू भाग्नुपरेको देख्नुभएको छ । यदि राम्रो राजनीतिज्ञ हो भने सबैले पद प्रतिष्ठा, कुर्सी स्थायी होइन भन्ने बुझ्नुहुन्छ जस्तो लाग्छ ।
० कतिपय विश्लेषकहरू मुलुक पाकिस्तानी मोडलमा जाँदैछ भन्छन्, त्यस्तो लाग्छ, यहाँलाई पनि ?
– फोर्स डेमोक्रेसीको बाटोतिर लागेको हो कि भन्ने सुनिन्छ । यद्यपि मुलुक पाकिस्तानी मोडलतिर गइ नहाल्ला किनकी आजसम्म यो नेपाली जनताकै कारण सुरक्षित छ । जब जब राष्ट्रियताको सवाल आउँछ, तब तब नेपाली एकै ठाउँमा उभिन्छन् । पोहोर भदौ २३ गते बच्चाहरू बिते, भोलिपल्ट नेपाली नागरिकहरू एकै ठाउँमा उभिए ।
कसैले संविधान फाल्ने, राजा ल्याउने कुरा गरे । त्यही बेला संविधान विरोधीहरूले बरु संविधान जोगाउने भन्दै थिए ।
राजावादीहरूले नै यो बाटोबाट राजा ल्याउनु हुँदैन भने । अहिले हामी संक्रमणकालीन अवस्थामा छौं । एउटा फेजबाट अर्को फेजमा जाँदैछौं । जनताको निराशाका बीच नयाँ दलको उदय भएको छ । त्यही निराशालाई चिर्ने क्रममा उहाँहरूले अलि विचार पुर्याउनुपर्दछ ।
जनतालाई छिटो रिजल्ट चाहिएको छ, सरकारलाई हतारो छ । कतिपय कुरा प्रक्रिया मिलाएर गरेको भए राम्रो रिजल्ट हात पार्न सक्थ्यो होला । निर्दोष मान्छेलाई त्यत्तिकै उठाउनु पनि अनुचित नै छ ।
० नियुक्ति हेर्ने हो भने राजदूत, वायुसेवा, बागमती सभ्यता, चिकित्सा विज्ञान प्रतिष्ठान लगायत धेरै निकायमा सेना हावी भएको देखिन्छ । यो सरकारको पछाडि सेनाको व्याक अप कत्तिको देखिरहनुभएको छ ?
– नेपाली सेनाले ड्युटी राम्रोसँग निर्वाह गरिरहेको छ । अरु निकायसँग अलि को– अर्डिनेसन नभएको वा कम भएको पो हो कि ? विदेशतिर पनि राम्रा र ठूला पोष्टमा सेनाकै मान्छेले अवसर पाएका छन् ।
नेपाली सेना अलि बढी देशप्रेमी छन् । यसो भन्दैमा हरेक कुरामा सेना हावी भएर अर्को बाटोमा जानु हुँदैन । जसरी श्रीलंकामा व्युरोक्रेसीले काम गर्न सकेन भनेर सबैलाई हटाई विदेशबाट मान्छे ल्याएर नियुक्त गरियो । उनीहरूले विदेशबाट धमाधम ऋृण लिए । अहिले देश नै ऋृणमा डुब्यो । यस्तो स्थितिचाहिँ नआओस् ।
० हिजो ‘आइएम विथ केपी ओली’ भन्ने ट्रेण्ड पनि यहाँहरूले चलाउनुभएको थियो क्यारे होइन !
– हो, त्यतिखर भारतीय नाकाबन्दी थियो । त्यो समयमा केपी ओलीले खेलेको भूमिका, र अडानका कारण उहाँको पक्षमा उभिएको हुँ । उहाँको निर्णयको पक्षमा उभिँदा धेरैले केपी ओलीको झोले भने तर हामी महाभारतको बर्बरिक हौं । कमजोरलाई सदैव सपोर्ट गर्ने हो, शक्तिशाली दुई जना लडिरहेका छन् भने साक्षी भावले हेर्ने हो । महाभारत युद्धमा बर्बरिकले जो सबैभन्दा कमजोर छ म उसैलाई गर्छु भनेका थिए । मिडिया भनेको बर्बरिक जस्तै हो । कमजोर छ भने उठाएर एउटा लेभलमा पुर्याइदिने हो ।
० रुटिन अफ नेपाल बन्द मार्फत् ३० जनालाई रोजगारी दिइरहनुभएको छ । स्वदेशमा अवसरको सबै ढोका बन्द छन् भनेर विदेशिने युवालाई के भन्न चाहनुहुन्छ ?
– नेपालमा सबै कुरा छ र सँगसँगै नकरात्मकता ज्यादा छ । नकरात्मकताका कारण समाज डिमोटिभेट भइरहेको छ । नकारात्मकता नभए विदेश जानु पर्दैन । आन्दोलनमा धेरै क्षति भएको छ । निर्दोष बच्चाहरू मारिएका छन् । नेपाल एकतावद्ध छ तर शत्रुहरू देशभित्र छन् । २३ गतेको घटनामा राज्य दोषी छ ।
२४ गतेको घटनामा आन्दोलनकारी उत्तिकै दोषी छन् । सार्वजनिक सम्पत्तिमा आगजनी नगरौं भनेर धेरै पोष्ट गर्यौं । कसैले सुनेनन् । जसरी २४ गते सिंहदरबार, संसद भवन, सरकारी संरचना जलाउन हजारौं नेपाली सडकमा आउनुभयो त्यसैगरी अब देश बनाउनका लागि एकै ठाउँमा उभिनुपरेको छ ।
जनआस्थाबाट साभार