चाडबाडमा अनलाइन ठगी धेरै हुने: ओटीपी र पासवर्ड गोप्य राख्न राष्ट्र बैंकको आग्रह

  • Clock icon
    २०८३ आश्विन ३०, शुक्रबार

दशैं, तिहार, छठ लगायत चाडपर्वका बेला अनलाइन ठगी जोखिम बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

चाडबाडमा कारोबार पनि धेरै हुने भएकाले केन्द्रीय बैंकले अनलाइन ठगीबाट बच्न ओटीपी र पासवर्ड अन्य व्यक्तिलाई नदिन भनेको हो ।

बैंकिङ कारोबार विश्लेषण क्रममा अनलाइन ठगीका घटना बढेको भन्दै इकाइले चाडपर्वका अवसरमा सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा ठग सक्रिय हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।

इकाइका अनुसार दसैं धमाका, तिहार छठ बम्पर उपहार वा आकर्षक उपहार जितेको भन्दै सामाजिक सञ्जाल मार्फत नक्कली लिंक पठाउने र सेवा शुल्क वा करका नाममा अग्रिम रकम माग्ने प्रवृत्ति देखिन सक्छ । यस्ता लिंकमार्फत ठगी गर्नेले सर्वसाधारणलाई लक्षित गर्न सक्ने भएकाले होसियार हुन इकाइले सुझाएको छ ।

त्यस्तै बैंक वा डिजिटल वालेटको नक्कली वेबसाइट बनाएर ग्राहकलाई केवाईसी विवरण अद्यावधिक नगरे खाता बन्द हुने डर देखाउँदै पासवर्ड, ओटीपी र व्यक्तिगत विवरण चोरेर बैंक तथा वित्तीय संस्थामा रहेको रकम ठगी गर्ने जोखिम पनि रहेको इकाइले जनाएको छ ।

सामाजिक सञ्जालमा ब्रान्डेड सामानमा भारी छुट दिने विज्ञापन राखेर अग्रिम भुक्तानी माग्ने र रकम लिएपछि सामान नपठाउने वा ग्राहकलाई ब्लक गर्ने घटनाबाट पनि सावधान रहन इकाइले सुझाएको छ ।

अरू व्यक्तिको नागरिकता, फोटो वा किर्ते कागजात प्रयोग गरी नक्कली खाता खोलेर आपराधिक गतिविधि गर्ने जोखिम समेत रहेको इकाइले औँल्याएको छ ।

इकाइले मोबाइलमा आउने ओटीपी, बैंक खाताको पासवर्ड तथा डिजिटल वालेटको पिन कसैलाई पनि नदिन आग्रह गरेको छ । सामाजिक सञ्जालमा आउने निस्शुल्क रिचार्ज, चिट्ठा परेको वा नक्कली उपहार सम्बन्धी शङ्कास्पद लिंक खोल्न नहुने सुझाव पनि दिइएको छ ।

अनलाइनबाट सामान खरिद गर्दा आधिकारिक र विश्वसनीय वेबसाइट मात्र प्रयोग गर्न तथा सम्भव भएसम्म सामान प्राप्त भएपछि भुक्तानी गर्ने विकल्प रोज्न इकाइले आग्रह गरेको छ । डिजिटल भुक्तानी गर्नुअघि सम्बन्धित वेबसाइटको ठेगाना सही भए–नभएको जाँच गर्नुपर्ने सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था र डिजिटल सेवा प्रदायकलाई पनि डिजिटल माध्यमबाट खाता खोल्दा ग्राहकको पहिचान सम्बन्धी विवरण प्रमाणीकरण गर्न, एउटै ठेगाना वा मोबाइल नम्बर प्रयोग गरी फरक–फरक नाममा धेरै खाता खोलिएको अवस्थामा निगरानी बढाउन तथा शङ्कास्पद कारोबार पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन सुझाएको छ ।

चाडपर्व सुरु हुनुअघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्भावित ठगीका ढाँचा पहिचान गर्ने तालिम दिन र एसएमएस तथा सामाजिक सञ्जाल मार्फत ग्राहकलाई सचेत गराउन पनि इकाइले आग्रह गरेको छ ।

त्यस्तै इकाइले अनलाइन ठगीमा परेको शङ्का लागे ढिलाइ नगरी सम्बन्धित बैंक तथा वित्तीय संस्था वा डिजिटल वालेट प्रदायकको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी खाता वा वालेट रोक्का गराउन र नेपाल प्रहरीको साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।