काठमाडौं उपत्यकामा दशैं आएको संकेत पात्रोले मात्र दिँदैन, असन र इन्द्रचोकका गल्लीमा बढ्ने चहलपहल, पसलमा थुप्रिएका नयाँ लुगा, मसला र चिउराको सुवासले पनि गराउँछ।
दशैंको समयमा उपत्यकाको पुरानो व्यापारिक केन्द्र असन बजारमा छुट्टै रौनक छाउँछ। साँघुरा गल्ली र पुराना घरहरूको बीचमा फैलिने भीडले असनलाई किनमेलको केन्द्र मात्र होइन काठमाडौंको जीवन्त संस्कृति र परम्पराको झल्को दिने ठाउँ बनाउँछ।
बिहानैदेखि असनका पसलका ढोका खुल्छन्। व्यापारीहरू सामान मिलाउन र ग्राहकको स्वागत गर्न व्यस्त हुन्छन्।
अन्नपूर्ण मन्दिर आसपासको चौबाटो हुँदै भेडासिङ, केलटोल, जनबहाल र इन्द्रचोकसम्म किनमेल गर्नेहरूको आवतजावत बाक्लिन्छ।
भक्तपुर, ललितपुर, साँखु, थानकोटदेखि काठमाडौंलाई कर्मथलो बनाएका विभिन्न जिल्लाका मानिससम्म दसैँको जोहो गर्न असन आइपुग्छन्। कसैलाई परिवारका लागि नयाँ लुगा किन्नु छ, कसैलाई घरको भान्साका लागि मसला, चिउरा र अन्य खाद्यान्न जुटाउनु छ। कसैको प्राथमिकतामा जुत्ता र चप्पल छन् भने कसैलाई पूजाका सामग्री र चंगा उडाउन चाहिने लट्टाई तथा धागो किन्नु छ।
मोलमोलाइ गर्दै सामान छान्ने ग्राहक, पसलबाट सामान ओसार्ने भरिया र ग्राहक बोलाउन व्यस्त व्यापारीका आवाजले बजारलाई थप जीवन्त बनाउँछ।
साँघुरा गल्लीमा मानिसको भीड बढेसँगै आवतजावत गर्न पनि मुस्किल पर्छ। तर यही भीड र चहलपहल असनको दशैंको परिचय बनेको छ। यहाँ किनमेल गर्नु केवल आवश्यक सामान जुटाउनु होइन, वर्षौँदेखि चल्दै आएको सहरको परम्परासँग जोडिनु पनि हो।
ऐतिहासिक व्यापारिक केन्द्रका रूपमा परिचित असनको सम्बन्ध काठमाडौंको पुरानो व्यापारिक र सांस्कृतिक जीवनसँग जोडिएको छ। अन्नपूर्ण मन्दिरले बजारलाई धार्मिक पहिचान दिएको छ भने वरपरका परम्परागत घर, मन्दिर र पसलले यसको ऐतिहासिक स्वरूप जोगाएका छन्।
दशैंको किनमेलमा परिवारप्रतिको माया र जिम्मेवारी पनि मिसिएको हुन्छ।
बाबुका लागि टोपी, आमाका लागि लुगा, छोराछोरीका लागि नयाँ पहिरन र घरका लागि आवश्यक सामग्री किन्नेहरूका झोलामा सामान मात्र हुँदैनन् परिवारसँग खुसी बाँड्ने चाहना पनि हुन्छ।
महँगीका कारण बजेट मिलाउनुपर्ने बाध्यता र सीमित आम्दानीका बीच पनि चाडपर्वका लागि केही न केही नयाँ किन्ने प्रयास देखिन्छ।
व्यापारीका लागि दसैँको समय वर्षकै महत्त्वपूर्ण व्यापारिक अवसरमध्ये एक हो भने ग्राहकका लागि वर्षभरि पर्खिएको चाडको तयारी गर्ने समय।
साँझ पर्दै जाँदा पनि असन र इन्द्रचोकको चहलपहल सहजै कम हुँदैन। पसलका बत्ती बल्न थाल्छन्, अन्तिम समयमा किनमेल गर्न आउने ग्राहकको भीड बढ्छ र दिनभरि बजारमा बिताएकाहरू हातमा झोला बोकेर घर फर्किन्छन्।
पुरानो व्यापारिक परम्परा, धार्मिक आस्था र पारिवारिक आत्मीयताको संगम बनेको असनमा दसैँ केवल किनबेचको मौसम होइन सहर र मानिसलाई चाडपर्वको साझा उत्साहले जोड्ने अवसर पनि हो।
बिजनेस न्युजबाट साभार
