नेपाल प्रिमियर लिग (एनपीएल) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले औपचारिक मान्यता दिएको छ।
आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म हुने एनपीएलको तेस्रो संस्करणलाई आईसीसीले मान्यता प्रदान गरेको नेपाल क्रिकेट संघले जानकारी दिएको छ।
औपचारिक मान्यताका लागि आईसीसीमा क्यानले पहल गर्दै आएको थियो। आईसीसीबाट पाएको मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुद बनाउन महत्वपुर्ण योगदान पुग्ने क्यानको विश्वास छ।
औपचारिक मान्यता दिएको भन्दै क्यानले आईसीसीलाई आभार व्यक्त गरेको छ। नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आईसीसीको निरन्तर सहयोग, समर्थन र सहकार्यको लागि क्यानले उच्च सम्मान गरेको छ।
आईसीसीको आयोजनामा नेपालमा आईसीसी एसिया कन्फ्रेन्स समेत हुने भएको छ।
आगामी मंसिर ३ गतेदेखि ५ गतेसम्म ९नोभेम्बर १९ देखि २१० आईसीसी एसिया कन्फ्रेन्स हुने क्यानका सचिव पारस खड्काले जानकारी दिए।
सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरूका साथै एसोसिएट सदस्य राष्ट्रहरूका आधिकारिक प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय क्रिकेट समुदायका उच्चपदस्थ अतिथिहरू सहभागी हुनेछन्।
सम्मेलनका अवसरमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरूले नेपालमा सञ्चालन भइरहेको तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग अन्तर्गतका इलिमिनेटर तथा फाइनल खेलहरूको समेत प्रत्यक्ष अवलोकन गर्ने क्यानले जनाएको छ।
