सरकारको आईटी विज्ञमा एकैरात १०० भन्दा बढी आवेदन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले ४२ जना सूचना प्रविधि (आईटी) विज्ञ नियुक्तिका लागि आवेदन खुला गरेकामा विज्ञापन सार्वजनिक भएको एकैरातमा १०० भन्दा बढी आवेदन प्राप्त भएका छन् ।

केन्द्रले सरकारी प्रणालीको विकास, सञ्चालन र सुधारमा प्रविधि क्षेत्रका दक्ष जनशक्तिलाई सहभागी गराउने उद्देश्यले १५ पदमा ४२ जना कर्मचारी माग गरेको हो ।

केन्द्रका अनुसार पदपूर्तिका लागि गोरखापत्र र आधिकारिक वेबसाइटमार्फत विज्ञापन प्रकाशित गरिएको छ । विज्ञापन सार्वजनिक भएको छोटो समयमै १०० भन्दा बढी आवेदन प्राप्त भएको केन्द्रले शनिबार जनाएको छ ।

केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख प्रविधि विज्ञ, परियोजना तथा व्यावसायिक विश्लेषण क्षेत्र प्रमुख, सफ्टवेयर इन्जिनियरिङ क्षेत्र प्रमुख, गुणस्तर विश्लेषण क्षेत्र प्रमुख, पूर्वाधार तथा सञ्चालन क्षेत्र प्रमुख र परियोजना व्यवस्थापक पदमा आवेदन माग गरिएको छ ।

त्यस्तै, वरिष्ठ डेभलपर वा डेभअप्स इन्जिनियर, सिस्टम, नेटवर्क वा डेटाबेस प्रशासक, सिस्टम विश्लेषक, साइबर सुरक्षा विज्ञ, मध्यम तहका डेभलपर, यूआईरयूएक्स डिजाइनर, कनिष्ठ डेभलपर, गुणस्तर विश्लेषक र प्राविधिक सहायता अधिकृत पदमा पनि कर्मचारी भर्ना गरिनेछ ।

केन्द्रले सरकारी सेवा प्रवाहलाई डिजिटल, सुरक्षित र भरपर्दो बनाउनुका साथै विभिन्न सरकारी निकायका सफ्टवेयर प्रणालीको विकास र दीर्घकालीन सञ्चालनलाई प्रभावकारी बनाउने लक्ष्यसहित जनशक्ति नियुक्त गर्न लागेको जनाएको छ ।

सबै पदका लागि आवेदन दिने अन्तिम मिति सन् २०२६ नोभेम्बर ४ तोकिएको छ ।