पत्रकार विश्वमणि सुवेदी पक्राउ परेका छन् । नेपाल प्रेसमा कार्यरत उनलाई प्रहरीले बानेश्वरस्थित कार्यालयबाट केही बेरअघि नियन्त्रणमा लिएको हो ।
नेपाल प्रेसका अनुसार सादा पोशाकमा आएका प्रहरी सुवेदी खोज्दै समाचार कक्षभित्र छिरेका थिए । त्यसपछि समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै उनलाई विनापुर्जी जबर्जस्ती समातेर लगेको जनाइएको छ ।
नेपाल प्रेसले केही दिनअघि आइजीपी दानबहादुर कार्कीलाई सरकारले हटाउन लागेको समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई लिएर प्रधानमन्त्रीको सचिवालयकै निर्देशनमा सुवेदी पक्राउ परेको जानकार स्रोतले बताएको छ ।
नेपाल प्रेसका सम्पादक मात्रिका पौडेलले समाचारको स्रोत खोज्न भन्दै प्रहरीले कार्यालयबाटै सुवेदीलाई समातेको बताएका छन् ।
यता, नयाँ पत्रिकाको कार्यालयमा पनि विनाबर्दीको प्रहरी टोली पुगेको छ । अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै पुगेको सात जनाको समूहले संवाददाता नवराज मैनालीलाई खोजिरहेको नयाँ पत्रिकाले जनाएको छ ।
समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको छु, नयाँ पत्रिकाले लेखेको छ, अहिले सो टोली मैनालीलाई लिएर जाने भन्दै समाचार कक्षमा रहेको छ ।
नयाँ पत्रिकाले मैनालीको बाइलाइनमा बिचौलिया इनाम सापकोटा र न्यायालयबीच आर्थिक कनेक्सनको समाचार प्रकाशन गरेको थियो । सोही विषयमा उनलाई समात्न खोजिएको हुनसक्ने अनुमान गरिएको छ ।
इनम(न्यायालय कनेक्सनको समाचार लेखेको दियो पोस्ट अनलाइनको अनामनगरस्थित कार्यालयमा पनि सादा पोसाकका प्रहरी पुगेको बुझिएको छ । पछिल्लो समय पत्रकार र मिडिया हाउसमाथि व्यापक धरपकड भैरहेको छ ।
स्रोतका अनुसार प्रहरी प्रमुख हटाउने चलखेलबारे समाचार लेखेका ५ जना पत्रकारलाई समात्ने योजना छ । आजै प्रहरीले पत्रकार शोभराज बराललाई पनि पक्राउ गरेको थियो ।
