पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट बिटी । एकदिन उनले सहयोगीलाई बोलाएर आफू विरुद्ध लेख्ने पत्रकारहरूको सूची तयार गर्न अह्राए । आलोचक पत्रकारहरूको सूची तयार भयो । फेरि जारले हुकुम दिए– ‘छानिएका मध्ये कट्टर आलोचकहरूको अर्को सूची तयार गर ।’ सहयोगीहरूले त्यसै गरे । ‘के यिनीहरूलाई आजीवन कारावासको सजाय सुनाउने हो ?’ सहयोगीहरूको प्रश्नको अनपेक्षित उत्तर दिँदै जारले भने– ‘होइन । यी मध्ये तीनजनालाई छानेर मेरो सल्लाहकार परिषद्को सदस्यमा मनोनित गर्ने । जो कट्टर आलोचक छन्, ती मेरा सही सल्लाहकार हुन् ।’

अरुलाई नमागेको अर्ती दिने मानिस स्वभावत: आफू भने त्यो अर्ती लायक हुँदैन । कवि, लेखक, चिकित्सक, न्यायाधीश, पुलिस, पत्रकारदेखि पुजारीसम्मले आचारसंहिता अरुका लागि मात्र कोर्छन् ।

नढाँटी भन्दा मुलुकको सर्वाधिक शक्तिशाली दल राष्ट्रिय स्वतन्त्र पार्टीको गर्भगृह सञ्चार संस्थाको क्यान्टिन हो ।

अरु सञ्चारगृहजस्तै त्यहाँ धेरैथरिका सञ्चारकर्मीहरूको उपस्थिति थियो । स्वभाविक थियो– चियागफमा भाव, अभाव र प्रभावका कुरा हुने नै भए । आफूभित्रका पीर गुनासा व्यक्त गर्ने क्रममा अनगिन्ती चियाकफीका कप रित्तिए । चुरोटका सग्ला खिली खरानी भए । तनावमा बाँचेकालाई कालोकफीले जोस्याउने भइहाल्यो । अरुलाई नमागेको अर्ती दिने मानिस स्वभावत: आफू भने त्यो अर्ती लायक हुँदैन । कवि, लेखक, चिकित्सक, न्यायाधीश, पुलिस, पत्रकारदेखि पुजारीसम्मले आचारसंहिता अरुका लागि मात्र कोर्छन् । ‘भ्रष्टाचारीलाई किरा परोस्’ भन्ने स्टीकर छाप्दासम्म छ्याकन हान्न नछोड्ने प्रवृत्तिको उपचार तर्कको एन्टीबायोटिकले मात्र सम्भव छैन । अरु त अरु भगवानका लीला गाउने धर्मगुरुहरू साधनामा नभएर सामाजिक सञ्जालको भाइरलमा आफ्नो भविष्य खोजिरहेका छन् । पत्रकार यी अवगुणबाट निरपेक्ष रहने सम्भावना नै रहेन ।

पार्टीका संस्थापक रवि लामिछाने ‘न्यूज ट्वान्टी फो’ टेलिभिजनमा ‘सीधाकुरा जनतासँग’ चलाउँथे । यो कार्यक्रमको प्रतिलिपि अधिकार अहिले पनि उनीसँगै सुरक्षित छ । जनताको नाम दिए पनि त्यो कार्यक्रमले सत्ता र शक्तिसँग बढी तालुक राख्थ्यो । त्यो कार्यक्रमका माध्यमबाट सुनुवाइ, अनुसन्धान र फैसला रवि आफैँ सुनाउँथे । पुराना दलका नेताहरू दशकपछिसम्म पनि सत्ताको बिलो लगाउने काममा केन्द्रित हुँदा सरकारका फ्रन्टडेस्कमाथि जनताको विश्वास घट्दै थियो । कतिसम्म भने जोखिम मोल्न हच्किने पुलिस–प्रशासन आफ्नोमा निवेदन दिन आएकाहरूलाई टेलिभिजनको कार्यालय पठाउँथ्यो ।

कठिन समयले शक्तिशाली मानिस जन्माउँछ । शक्तिशाली मानिसले सजिलो समय निर्माण गर्छ । सजिलो समयमा कमजोर मानिस जन्मन्छ । कमजोर मानिसले मूलत: समस्या उत्पादन गर्दछ ।

मुलुकको अघोषित कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको काम टेलिभिजन कार्यक्रमले गर्न थाल्यो । रवि लामिछानेको बढ्दो महत्वाकांक्षालाई रातारात जन्माइएको ग्यालेक्सी टेलिभिजनले थप मलजल गर्‍यो । कतिसम्म भने हजार मोलिने पत्रकारलाई लाखमा मोलेर लगियो । रविको बोलीमा कानून, पैसा सबै थियो । कठिन समयले शक्तिशाली मानिस जन्माउँछ ।

शक्तिशाली मानिसले सजिलो समय निर्माण गर्छ । सजिलो समयमा कमजोर मानिस जन्मन्छ । कमजोर मानिसले मूलत: समस्या उत्पादन गर्दछ । आखिर त्यही भयो । रविका लागि यो समयले गलपासो र अवसर दुवै जन्मायो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कला क्षेत्रबाट एक्लो खेलाडीका रुपमा राजनीतिको परेडमा आए । तर नेपालमा आश्चर्य के छ भने रविका मेकअप म्यानदेखि दु:ख–सुख बाँड्ने सबै सदस्य राज्य सञ्चालनका महत्वपूर्ण निकायमा पुग्न सफल भए । यदि अहिलेको सत्ता असफल भयो भने नेपालको इतिहासमा सञ्चारजगतको नेतृत्व असफल ठहरिनेछ ।

एउटा अनौठो संयोग के छ भने पत्रकारिता गरेर सञ्चार मन्त्रालय सम्हालेका पत्रकार प्रदीप नेपाल, रमेशनाथ पाण्डे, जयप्रकाश गुप्ता, गोकुल बाँस्कोटा, जगदीश खरेल हुँदै विक्रम तिमल्सिनासम्म आउँदा औसत जागिरे भए, कीर्तिमानी भएनन् ।

सञ्चारकर्ममा लागेका यतिविधि मानिस अप्रत्याशित फड्को हानेर सिंहदरबारको चुल्हो चौकोमा पुग्नु पहिलो र अन्तिम संयोग हो । पाँच वर्षअघि चियागफका पार्टनर दुई तिहाइ संसदका सारथी हुनु भनेको सिनेमामा समेत नबिक्ने अपत्यारिलो कथा हो ।

यो असाधारण सफलताको गन्तव्यबारे स्वयं पात्रहरू नै अलमलमा छन् । यी केही नाम जस्तै सभापति लामिछाने, राजीव खत्री, गणेश पराजुली, सुम्निमा उदास, डा. विक्रम तिमल्सिना, सन्तोष राजवंशी, जगदीश खरेल, रमेश प्रसाईं, प्रतिभा रावल, क्रान्तिशिखा धिताल मिडियामा काम गरेर आएको पैसाबाट जाउलोको ताउलोमा आगो लगाउँथे ।

रास्वपाका धेरै सांसद कालिकोट हिँड्दा थानकोटको गन्तव्य भेटेजस्तै छन् । हालको पद जे भएपनि उनीहरूको धमनी खबरसंसारसँग जोडिएको छ ।

यसैगरी रिमा विश्वकर्मा, सोविता गौतम, आसिफ शाह, श्रद्धा कुँवर, मनिष झा, प्रकाश पाठक, निशा डाँगी, प्रकाशचन्द्र परियार, गणेश पौडेल, दीपक बोहोरा, प्रमोद न्यौपाने, विनीता कठायत, सीता बादी, खगेन्द्र सुनारसम्मको साइनो सञ्चारसँग जोडिएको छ । यी केही प्रतिनिधि पात्र हुन् ।

सत्ता सञ्चालकका लागि प्रशंसा कति मन्द विष हुन्छ ? त्यसको निदान कसरी खोज्ने त भन्ने सम्मका हाम्रै राजनीतिक इतिहास प्रेरक सन्देश दिने खालका छन् । २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनले बीपी कोइराला नेतृत्वको पार्टी नेपाली कांग्रेसले दुई तिहाई मत ल्यायो । संसदमा प्रतिपक्षी एकदमै कमजोर थियो ।

बीपीलाई लाग्यो– कमजोर प्रतिपक्षले शक्तिशाली सरकारलाई लगाम लगाउन सक्दैन । कम्युनिष्ट विचारधाराका पत्रकार मदनमणि दीक्षितलाई बोलाएर पत्रिकामार्फत प्रतिपक्षीको भूमिका निर्वाह गरिदिन आग्रह गरे ।

गृहमन्त्री सूर्यप्रसाद उपाध्यायमार्फत ‘समीक्षा’ नामको पत्रिका दर्ता गराइयो । यसबाहेक प्रकाशन खर्चबापत महिनाबारी ६ सय रुपियाँ बीपीले दिने सहमति भयो । बीपीको संवाद स्मरण गर्दै मदनमणिले आफ्नो कृतिमा भनेका छन् – ‘मसँग संसद्‌मा दुईतिहाइ बहुमत छ । मेरो कमजोरी केलाउन प्रतिपक्षको स्वर संसद्‌मा त्यति बलियो सुनिएको छैन। त्यसैले मबाट कुनै गल्ती–कमजोरी हुन नदिन तपाईंले आफ्नो पत्रिका ‘समीक्षा’ मार्फत मेरा गल्ती र कमजोरीहरू एक–एक गरी केलाएर लेखिदिनुहोला ।’

समकालीन राजनीतिमा यो अपत्यारिलो घटना हो । आफ्नै सरकार विरुद्ध लेख्ने पत्रिकालाई कार्यकारीले पैसा भर्नु आफैँमा विडम्बना हो । बीपीलाई लाग्थ्यो– विपक्षीको आवाजलाई पैसाले किन्नु हुँदैन, तर विपक्षी बाँच्ने वातावरण सत्ताले नै बनाइदिनु पर्छ ।

इतिहास बनाउन लालायितहरूले सधैँ याद राखून्– साँझमा बालिएको दियो हावाले मात्र निभ्दैन, तेल सकिएर पनि निभ्छ । भीडको लोकप्रियता धेरैसम्म टिक्दैन । यी सबैको निष्कर्ष दुईचार दर्जन धुपौरे अगाडि पछाडि राखेर भगवान् भएको भ्रममा परियो भने अरुलाई खेदेको दिनले जो कसैलाई हातहातै, पातपातै त्यही दिनको आमन्त्रण गर्छ ।

समय बदलिएपछि मान्यता स्वत: बदलिन्छ । हामीले शिक्षक फेर्न जान्यौँ, कोर्स फेर्न जानेनौँ । हेमन्त ऋतुमा पनि मौरीले फूलको रस नै बटुलेको थियो । झिँगा फोहोरमै घुमेको हो । गाईको पेटमा घाँस नै आहारा परेको थियो । काँडाले फूलमाथि हस्तक्षेप गरेको कसैलाई थाहा छैन । बाघले आहारामा मृग छोडेको छैन । विरालाको नजरमा मूसामा नै परिरहेको छ । जस्तोसुकै परिस्थितिमा पनि पानीले छिट्टै आकार बनाउने आफ्नो शिल्पी छोडेको छैन ।

ठिहीको सामथ्र्य पुस, माघमै देखिने हो । यी सबै देख्दादेख्दै हामी भन्छौँ– समय बदलियो । अहँ, बदलिएको समय हैन, हामी हो । समय बेइमान हुन्न, फितलो त हामीले लिएको संकल्प हो । विश्वका झण्डै आठ अरब मानिसका लागि घडीले बजाउने त्यही चौबीस घण्टा त हो । मिलको फित्ताजस्तो एउटै गति र एकै ठाउँ घुमेका हामी दम्भ गर्दै भनिदिन्छौँ– मैले संसार फन्को लगाएको छु ।

हामीलाई हाम्रा बाउ बाजेको अनुभव सुन्ने फुर्सद भएन । सन्तानलाई डाक्टर, इन्जिनियर पाइलट बनाउनमा सोख राख्यौँ । एउटा प्रतिनिधि पात्र यस्तो जन्मिएन, जसले भनोस्– म आफ्नो बाउ जस्तो बन्छु । समस्या यहीँ छ ।

समय बित्नका लागि मात्र बित्दैन । यो नयाँ कामको लागि प्रेरक पनि हो । नागरिकता बिना पनि मानिसको आफ्नै अलग परिचय हुन्छ । कागजी पढाई बिना पनि ज्ञानका अजस्र स्रोत भेटिन्छन् । माटो र बाटोको जस्तो शक्तिशाली सिकाइ अरुको के हुन्थ्यो र ? स्कुल, कलेजले दिने कागज त ‘फि’ तिरेको प्रमाण मात्र हो । बाहिरी आँखाले देखेको भन्दा अन्तरचक्षुले देखेको दृश्य कन्चन हुन्छ । बाहिरी आँखाले रंग खुट्याउँछ, भित्री आँखाले गुण र दोष । भनिन्छ– संसारमा तीन किसिमका मानिस हुन्छन् । एकथरि जीवनलाई सराप्छन् । अर्कोथरि आशीर्वाद दिन्छन् । तेस्रोथरि जीवनबारे चिन्तन मनन गर्छन् । सस्तो लोकप्रियताको परिणाम के हुन्छ ? त्यसको पनि अप्रिय उदाहरण पढौँ ।

विश्वास ऐनाजस्तै हो । नफुटेसम्म सबैथोक राम्रोसँग देखिन्छ, फुटेपछि छरिएका टुक्राहरूको त्रास जिन्दगीभर बिझाइरहन्छ ।

एक समय थियो– ईटलीको मिलान शहरमा मुसोलिनीको साधारणभन्दा साधारण कार्यक्रममा लाखौँको भीड जुट्थ्यो । मुसोलिनी जता जान्थे, भीड त्यतै लाग्थ्यो । मानौँ, उठ् भने उठ्, बस् भने बस् जस्तै । लाखौँ युवाहरू सडकमा उत्रिएर ‘ड्यूचे! ड्यूचे !! ड्यूचे !!!’ नारा लगाउँथे । मुसोलिनी त्यतिबेला ईश्वरको अवतार मानिन्थे । पाँच वर्षपछि मर्न तयार लाखौँको भीड मुसोलिनी विरुद्ध यसरी उत्रियो कि उनी र प्रेमिकालाई बीच सडकमा उल्टो झुण्डयाएर लाखौँ लाखले थुके । पूजा हुने मानिसको नभएर कीर्तिको हो ।

चेपाङ, कुसुन्डा, दनुवारको समस्याले मुलुक थला परेको होइन । न्यायालयमा जानुस् ९० प्रतिशत मुद्दा जग्गासँग सम्बन्धित छ । नजानेको, नबुझेको, नपढेको वर्गले मुद्दामामिलाको व्याकरण नै बुझ्दैन । पढेका मानिस नै अधिक सडक दुर्घटनामा परेको देखिन्छ । समस्या कोट टाई, दौरा सुरुवाल लगाउनेहरूको दृष्टिकोणमा छ । अहिले त झन् राजनीतिलाई राजनीति गर्ने भन्दा गैरराजनीतिक प्राणीबाट जोगाउनुपर्ने चुनौती छ । कपाल काट्ने हजाम, पशुपतिको बिगुत बोक्ने पुजारी, दूध बोक्ने ग्वाला, पत्रिका ल्याउने हकर, फूल गोड्ने माली, सुरक्षाका लागि खटाइएको अंगरक्षक यस्तै अनपेक्षित पात्रबाट राजनीतिका असामान्य खेलकुद हुन थालेका छन् । नेताको अनुहारभित्र दलाल र भरियाको चरित्र हावी छ ।

प्रख्यात रुसी संस्कृतिविद् भासिली क्लिउचेस्की भन्छन्– ‘इतिहास आफैँले केही सिकाउँदैन । बरु आफूबाट केही नसिक्नेलाई दण्ड दिन्छ ।’ केही वर्षअघि ‘शेरबहादुर’ नामको सिनेमा हलमा लाग्यो ।

त्यो सिनेमासँग देउवासँग तीन न तेह्र कुनै साइनो थिएन । बजारमा देउवाको चरम आलोचना भइरहँदा लागेको त्यो सिनेमा शेरबहादुर नाम भएकै कारण पानी पिउन पाएन भन्ने समीक्षकहरूको ठम्याइ रह्यो । यसबाट पुष्टि हुन्छ– राजनीतिको मात परमाणुभन्दा पनि शक्तिशाली हुन्छ ।

 

 

खबरहबबाट साभार