नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्नेमा जोड दिएका छन् ।
आज सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री पौडेलले संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न आवश्यक रहेको बताए।
‘विचौलिया प्रकरणमा सरकार, अदालत तथा अन्य पक्षहरू जोडिएर आएका समाचारहरू छन्, त्यसका बारेमा छानबिन हुनुपर्छ, त्यसको गहिराइमा पुगेर छानबिन गर्नुपर्छ,’ उनले भने
अदालत, सरकार र समग्र राज्य संरचनालाई विचौलियामुक्त बनाउनुपर्नेमा सरकार स्वयं विवादमा जोडिएको उनको भनाइ थियो। ‘अब अदालत, सरकार, राज्य संरचना सबै विचौलियामुक्त बनाउन जरुरी छ। त्यसैले यसको गहिराइमा पुगेर छानबिन सरकारले गर्न सक्छ तरु अदालतकै कुरा जोडिएको छ, महत्त्वपूर्ण पक्षहरूसँग कुरा जोडिएको छ,’ पौडेलले भने, ‘हामीले चाहेको यसको निष्पक्ष छानबिन हो। दूधको दूध, पानीको पानी छुट्याइनुपर्छ।’
सरकार आफै विचौलिया प्रकरणमा जोडिएकाले यसको छानबिन सरकारले मात्रै गर्न नसक्ने उनले बताए। संसद्को बैठक तत्काल बोलाउन र प्रकरणको छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्नेमा उनले जोड दिए।
