बिरालो र खरायोको खानाभित्र २२ करोडको हेरोइन! त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले ५.५ किलोग्राम सेतो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति भारतको महाराष्ट्र राज्यस्थित पुणेका ५२ वर्षीय रेवाराज तिघारे (REWARAJ TIGHARE) रहेको प्रहरीले जनाएको छ। ब्यूरोका अनुसार उनी लागू औषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको अनुसन्धानबाट खुलेको छ।

लागू औषध ओसारपसार हुन सक्ने आशंकामा हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार २०८३ कात्तिक २८ गते थाइल्यान्डबाट नेपाल आएका तिघारेमाथि शंका लागेपछि चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा उनले साथमा ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर राखिएको ५.५ किलोग्राम सेतो हेरोइन फेला परेको थियो। बरामद लागू औषधसहित उनलाई पक्राउ गरी ब्यूरोले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

लागू औषधको मूल्य २२ करोड रुपैयाँ

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बरामद ५.५ किलोग्राम सेतो हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ रहेको छ। उक्त हेरोइन भारत पुर्‍याएपछि भारतीय बजारमा अझ महँगो मूल्य पर्ने ब्यूरोले जनाएको छ।

पक्राउ परेका तिघारेको साथबाट एक थान पासपोर्ट र एक थान मोबाइल फोनसमेत बरामद गरिएको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत फेला परेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

लाओसबाट दुई पटक लागू औषध ओसारपसार गरेको विवरण

प्रहरीका अनुसार तिघारे यसअघि पनि लागू औषध कारोबारमा संलग्न रहेको देखिएको छ। उनी सन् २०२५ नोभेम्बर ४ र सन् २०२६ फेब्रुअरी २६ मा लाओसबाट नेपाल आएको तथा पहिलो पटक नेपालबाट हवाई मार्ग हुँदै र दोस्रो पटक स्थलमार्गबाट भारतसम्म लागू औषध पुर्‍याएको भनिएको छ।

उनले लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडियासमेत भ्रमण गरेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनी लागू औषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको तथ्य खुलेको ब्यूरोको भनाइ छ।

लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद भएको परिमाणको सेतो हेरोइन कारोबारमा संलग्न व्यक्तिलाई १५ वर्षदेखि जन्मकैदसम्म कैद र पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।

लागू औषध नियन्त्रण ब्यूरोले कात्तिक २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले उक्त जानकारी दिएका हुन्।