लिपुलेकबारे कुराकानी नभएपनि ईपीजी प्रतिवेदनको सान्दर्भिकता सकिएको सचिव मिश्रको दाबी

नेपालका प्रधानमन्त्री वालेन्द्र शाह -बालेनको भारत भ्रमणका क्रममा लिपुलेकको विषयमा कुनै छलफल नभएको भारत सरकारले स्पष्ट पारेको छ ।

साथै, प्रबुद्ध व्यक्ति समूह -ईपीजीको प्रतिवेदन विगतको विषय भइसकेकाले अब यसको सान्दर्भिकता नरहेको भारतीय पक्षले जनाएको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा गएका प्रधानमन्त्री शाह स्वदेश फर्किएलगत्तै भारतीय विदेश मन्त्रालयले आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिश्रीले यस्तो जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले लिपुलेक नाका हुँदै हुने भारत–चीन व्यापारप्रति नेपालको आपत्तिबारे प्रधानमन्त्री शाहले कुरा उठाए वा उठाएनन् भनी प्रश्न राखेका थिए । उक्त प्रश्नको जवाफ दिँदै विदेश सचिव मिश्रीले भने, ‘लिपुलेकको विषय आज उठेन र दुई पक्षबिच यसबारे कुनै छलफल भएन ।’

लिपुलेक भारत र चीनबिचको एक नाका रहेको र लामो समयदेखि दुई देशबिच व्यापार तथा अन्य गतिविधिका लागि प्रयोग हुँदै आएको उल्लेख गर्दै उनले यस विषयमा अहिलेको यथार्थ यही रहेको बताए ।

यस्तै,अर्का सञ्चारकर्मीले संयुक्त प्रेस विज्ञप्तिको १५ औँ बुँदामा उल्लेखित सीमासम्बन्धी विषय र दुवै देशका परराष्ट्र सचिवलाई दिइएको निर्देशनले प्रबुद्ध व्यक्ति समूह -ईपीजीको प्रतिवेदनमा कस्तो प्रभाव पार्छ भनी जिज्ञासा राखेका थिए ।

जवाफमा विदेश सचिव मिश्रीले ईपीजी प्रतिवेदन विगतको विषय भइसकेको बताए । उनले भने, ‘हामी यस विषयमा अग्रगामी दृष्टिकोणका साथ हेरिरहेका छौँ, पछाडि फर्केर हेरिरहेका छैनौँ । तसर्थ, तपाईँले उल्लेख गर्नुभएको प्रतिवेदन सान्दर्भिक छैन, त्यो विगतसँग सम्बन्धित छ ।’ आज दुई नेताबिच जारी भएको संयुक्त दृष्टिकोण पत्रको भावनाअनुरूप अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

सीमा व्यवस्थापनका लागि दुई देशबिच बहुस्तरीय संयन्त्र रहेको जानकारी दिँदै मिश्रीले तल्लो तहमा फिल्ड सर्वेक्षण टोली, वरिष्ठ अधिकारीहरूको समिति र सीमा कार्यदल सक्रिय रहेको बताए । पछिल्ला वर्षहरूमा सीमा स्तम्भको मर्मतसम्भार र अतिक्रमणसम्बन्धी गुनासाहरूको छानबिनलगायत प्राविधिक स्तरमा निकै सहज र राम्रो प्रगति भइरहेको उनको भनाइ छ ।

दुई देशका प्रधानमन्त्रीबिचको सकारात्मक र अग्रगामी छलफलपछि संयुक्त दृष्टिकोण पत्रमार्फत परराष्ट्र सचिवहरूलाई सीमासम्बन्धी कार्य अघि बढाउन निर्देशन दिइएको उनले जानकारी दिए ।

मिश्रीले निकट भविष्यमै परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बसेर शीर्ष नेतृत्वको निर्देशनअनुरूप सीमासम्बन्धी विषयलाई अगाडि बढाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमण सम्पन्न गरेका हुन् ।