संघीय अस्पतालमा २,१०० जनशक्ति प्रस्ताव, स्वास्थ्य-आर्थिक मन्त्रालयबीच छलफल

आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका सन्दर्भमा अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच विशेष छलफल सम्पन्न भएको छ। छलफलमा स्वास्थ्य सेवा विस्तारका लागि २,१०० जनशक्ति थप गर्ने प्रस्ताव उठाइएको छ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा विशिष्ट सेवा विस्तार गर्न र स्वास्थ्य सेवा प्रभावकारी बनाउन डाक्टर, नर्सलगायतको थप जनशक्ति अनिवार्य भएको बताए। उनले संघीय अस्पतालहरूमा गुणस्तरीय सेवा सुनिश्चित गर्न थप दरबन्दी आवश्यक रहेकोमा जोड दिए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष जनशक्ति आवश्यक रहेको स्वीकार गर्दै जनशक्ति व्यवस्थापनका विषयमा थप परामर्शसहित प्रक्रिया अघि बढाइने जानकारी दिए।

छलफलमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, निशुल्क बालऔषधी, भक्तपुरको दुवाकोटमा निर्माण हुने वीर अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (DPR), जलन उपचार सेवा लगायतका बहुआयामिक विषयमा पनि विमर्श गरिएको थियो। सरकारको प्राथमिकतामा रहेको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि यो छलफल महत्वपूर्ण मानिएको छ।