‘साँगे दर्पण’ पुस्तक समीक्षा कार्यक्रम सम्पन्न, साँगे सभ्यताको संरक्षणमा जोड

साँगे सभ्यता संरक्षण तथा विकास अभियानले साउन २५ गते आइतवार राजधानीको बसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा ‘साँगे दर्पण’ पुस्तक समीक्षा तथा छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझाले मुख्य अतिथिको रूपमा उपस्थित भई पुस्तकलाई साँगे क्षेत्रको समग्र इतिहास प्रस्तुत गर्ने महत्वपूर्ण कृति भएको उल्लेख गरेका थिए। उनले यस्तो मूल्यवान ऐतिहासिक दस्तावेजलाई गहिरो सम्मानका साथ लिने र यस्ता कार्यक्रमहरू निरन्तरता दिँदै अभियानलाई अझ सशक्त बनाउने आवश्यकतामा जोड दिए।

कृषि विज्ञ दिपेन्द्र केशरी न्यौपाने, साविक श्याम्घा गाविसका अध्यक्ष किरण भण्डारी, पूर्व उपसचिव दामोदर भण्डारी, साँगे काठमाडौं सम्पर्क समाजकी उपाध्यक्ष रञ्जना पोखरेल वाग्ले लगायत वक्ताहरूले पनि ‘साँगे दर्पण’ पुस्तकलाई साँगे सभ्यताको ऐतिहासिक प्रमाण ठानेर सरोकारवालाहरूले अभियानलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिएका थिए।

अभियानका संयोजक सुरेन्द्र वाग्लेले कार्यक्रमलाई साँगे क्षेत्रको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक मूल्य–मान्यताको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।

महासचिव सरोज ओझाले पनि पुस्तक समीक्षा तथा साँगे सभ्यता र समग्र विकासका लागि भावी रणनीति तय गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

कार्यक्रममा प्रकाशन समितिका आर्थिक संयोजक हरिराज वाग्लेले आर्थिक विवरण प्रस्तुत गर्नुभएको थियो। वरिष्ठ सदस्य पूर्व एसएसपी हरिराज वाग्ले र बालवती शर्मा (बाला)ले अभियानलाई अझ प्रभावकारी बनाउन थप विचार–विमर्श गर्दै सबै सरोकारवालालाई एकजुट भई योगदान दिन आह्वान गरेका थिए।

त्यसैगरी साधारण तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र तथा पुस्तक वितरण गरिएको थियो। कार्यक्रममा बुद्धिजीवी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।