माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा नाफामा उल्लेखनीय वृद्धि गरेको छ। कम्पनीले बुधवार सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार, यस अवधिमा कम्पनीको खुद नाफा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २६ करोड ८९ लाख रुपैयाँभन्दा १३३.९५ प्रतिशत बढी हो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको ९७ करोड ६२ लाख रुपैयाँभन्दा ३३.९२ प्रतिशत बढी हो। साथै, बीमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ६ लाख रुपैयाँ प्राप्त भएको र ब्याज खर्च २६ करोड ८८ लाखबाट घटेर २४ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। विद्युत बिक्रीको वृद्धि, बीमा दाबी आम्दानी र ब्याज खर्चमा कमीले नाफामा उछाल ल्याएको कम्पनीले जनाएको छ।
कम्पनीको संचालन मुनाफा पनि ५४ करोड ३० लाख रुपैयाँबाट बढेर ८९ करोड २१ लाख रुपैयाँ पुगेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ र रिटेन अर्निङ १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ।
प्रतिसेयर आम्दानी (EPS) ११.८८ रुपैयाँबाट बढेर २४.१७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८.२० रुपैयाँबाट बढेर १५२.११ रुपैयाँमा पुगेको छ।
माउण्टेन इनर्जीले सञ्चालनमा ल्याएका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन्। कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि लगातार लाभांश वितरण गर्दै आएको छ।