नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बिहीबार सार्वजनिक गरिएको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, यो नाफा अघिल्लो वर्षको तुलनामा ९.८६ प्रतिशत कम हो। अघिल्लो आवमा बैंकले १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफा घटेपनि बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर ५ अर्ब २६ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, नेट फि तथा कमिसन आम्दानी पनि ७.५५ प्रतिशतले बढेर १ अर्ब २१ करोड ६१ लाख रुपैयाँमा पुगेको छ। तर, सञ्चालन नाफा ३.६२ प्रतिशत घटेर २ अर्ब ७३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको तुलनामा बढेर १ अर्ब २ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जसका कारण नाफामा कमी आएको हो। यद्यपि, बैंकको वितरणयोग्य नाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ, जसका आधारमा यो वर्ष ११.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) १६.५४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख रुपैयाँ हो भने जगेडा तथा कोषमा ९ अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ।
गत आवमा बैंकको खराब कर्जा १.३५ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ। तर, व्यवसाय विस्तारमा बैंक सक्रिय रहँदै आएको छ। निक्षेप संकलन १३.७२ प्रतिशत बढेर १ खर्ब ९९ अर्ब ६० करोड ३४ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७.१३ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ९६ करोड ५८ लाख रुपैयाँमा पुगेको छ।