साढे तीन वर्षदेखि जारी युक्रेन–रुस युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज राति ऐतिहासिक शिखर वार्ता हुने भएको छ। नेपाली समय अनुसार भोलि बिहान १:१५ बजे अमेरिकाको अलास्का राज्यको एङ्कोरामा दुई राष्ट्रप्रमुखबीच भेटवार्ता तय भएको हो।
अमेरिकाको मुख्य भूमिबाट टाढा र पहिले रुसकै स्वामित्वमा रहेको अलास्का १५८ वर्षअघि मात्र रूसले प्रतिएकड २ सेन्टभन्दा कम मूल्यमा, अर्थात् जम्मा ७२ लाख अमेरिकी डलरमा अमेरिकालाई बेचेको थियो। अहिलेको क्रयशक्ति मूल्यमा यसको मूल्य करिब १५ करोड ६४ लाख अमेरिकी डलर बराबर पर्छ। नेपालभन्दा करिब १२ गुणा ठूलो यस राज्यको सबैभन्दा ठूलो सहर एङ्कोरामा हुने यो बैठक दुई चरणमा सम्पन्न हुनेछ।
पहिलो चरणमा ट्रम्प र पुटिन एक्ला एक्लै भेट्नेछन् भने दोस्रो चरणमा दुवै देशका प्रतिनिधि मण्डल पनि सहभागी हुनेछन्। बैठकपछि संयुक्त प्रेस वार्ता गर्ने योजना छ। त्यसपछि राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमीर जेलेन्स्की र युरोपेली नेताहरूसँग भर्चुअल बैठक गर्नेछन्।
पछिल्ला महिनाहरूमा रुसले युक्रेनी भूमि कब्जा गर्ने अभियान तीव्र पारेको र राजधानी किभमाथि बारम्बार आक्रमण गरिरहेको खबर आएको छ। यसबीच अमेरिकाले रुसलाई युद्धविरामका लागि दबाब दिइरहेको छ, तर कुनै ठोस सम्झौतामा पुग्ने हो कि होइन भन्ने अझै स्पष्ट छैन।
यो वार्ताबाट सकारात्मक नतिजा निस्के अमेरिकी राष्ट्रपति ट्रम्पका लागि यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावना खुल्ने अनुमान छ। साथै, छिमेकी भारतमाथि लगाइएको ५० प्रतिशत अतिरिक्त आयात शुल्कको आधा रकम तत्काल हट्ने अपेक्षा गरिएको छ। सम्झौता नभए आगामी २७ अगस्टदेखि सो शुल्क लागू हुने र भारतको अमेरिकी निर्यातको करिब ५५ प्रतिशत हिस्सा प्रभावित हुने चेतावनी ट्रम्पले दिएका छन्।