सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ ।
पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छरछिमेकीलाई बाँडेर ओल्के पर्व मनाईन्छ । त्यसैले ओल्के भन्नाले उपहार वा कोसेली भन्ने पनि बुझिन्छ ।
आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, यस पर्वको विशेषता रहिआएको छ ।
ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौँदेखि चलिआएको छ ।
यो दिन ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान आदि मान्यजन र आफन्तकहाँ लिएर भेटघाट गर्न जाने चलन छ ।
धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्दछन् ।
ओल्के पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदासमेत दिएको छ ।