राष्ट्र बैंकले आज ६० अर्ब तान्ने

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न आज पुनः ठूलो मात्रामा निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३१ दिन अवधिको लागि कुल ६० अर्ब रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले यसका लागि निक्षेप संकलन बोलकबोल उपकरण प्रयोग गर्ने छ। बोलकबोल प्रक्रियामा केवल ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोलकबोलको प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत हुने छ र यसका लागि भदौ १ गते मध्यान्ह ३ बजेसम्म समय तोकिएको छ।

बोलकबोल गर्दा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडका गुणकमा प्रस्ताव पेश गर्न सकिने व्यवस्था गरिएको छ। संकलित रकम बाँडफाँड गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरअनुसार क्रमशः प्राथमिकता दिइनेछ। सबैभन्दा कम ब्याजदरमा दिएको प्रस्तावलाई पहिलो प्राथमिकतामा राखेर बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यस अन्तर्गत संकलित रकमको मूलधन तथा ब्याज असोज १ गते भुक्तानी गरिनेछ। राष्ट्र बैंकले पछिल्ला दिनमा बारम्बार यस्तो कदम चाल्दै आएको छ, जसको उद्देश्य बजारमा देखिएको अत्यधिक तरलतालाई नियन्त्रणमा ल्याउनु रहेको बताइएको छ।