पाल्पामा २०६ औँ भगवती सिन्दुर जात्राको रथयात्रा सुरु

नेपाल–अङ्ग्रेज युद्धमा विजयको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा आयोजना हुँदैछ। यस वर्ष २०६ औँ भगवती खट यात्राका रूपमा जात्रा निकालिन लागेको हो।

विसं १८७१ देखि १८७२ मा भएको तत्कालीन नेपाल–अङ्ग्रेज युद्धमा पाल्पाली कमाण्डर कर्णेल उजिरसिंह थापाले अङ्ग्रेज फौजलाई पराजित गरेपछि हरेक वर्ष भाद्र कृष्णनवमीको दिन विजयोत्सव मनाइँदै आएको छ। रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ।

भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनका अनुसार, जात्राको तयारी पूरा भइसकेको छ। उनी भन्छन्, “स्थानीय सरकार, सरोकारवाला निकाय र अन्य व्यवस्थापकहरूसँग सल्लाह गरी जात्रालाई व्यवस्थित र मर्यादित बनाउन प्रयास गरेका छौँ।”

जात्रामा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानसेनापति अशोकराज सिग्देल, प्रदेश मन्त्री, संघीय सांसद र प्रदेश सांसदलगायत उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ।

मुख्य कार्यक्रम अनुसार, मूलपुरोहितद्वारा १२:०० बजे तान्त्रिक विधि र बलिसहित पूजा सम्पन्न हुने छ। त्यसपछि १२:३० बजे मन्दिर परिसरबाट खटयात्रा सुरु भई तीन पटक मन्दिर घुमाइने र नगर परिक्रमा गराइनेछ।

रथयात्रामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीको सहभागिता रहनेछ। हरेक वर्ष कुमाल समुदायबाट रथ बजार परिक्रमा गराउने परम्परा छ। रथको दुवैतिर तेर्साइएका दुई बलिया नोलहरूले मूर्तिलाई काँधमा बोकी जयजयकार र बन्दुकको बढाइँका साथ नगर घुमाउने चलन छ।

जिल्लाको सुरक्षा व्यवस्थालाई कडा बनाइएर शान्ति सुव्यवस्था कायम गरिएको छ। जात्राका दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ।