वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहिले सोमबार हिन्दूकुश हिमालय संसदीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले गम्भीर असर बेहोर्नुपरेको बताएका छन् ।
सम्मेलनको अवसरमा मन्तव्य दिंदै उनले जलवायु संकटले मुलुकभर नै विनाश ल्याइरहेको र अब यसको सामना गर्न सफल नीति निर्माण र कार्यान्वयन जरुरी भएको बताए । मन्त्री साहीले नेपालको सबैभन्दा ठूलो ताल रारासमेत जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावमा परेको उल्लेख गर्दै भने, ‘यो तथ्य मात्र होइन, आफैंले देखेको र भोगेको कटुसत्य हो ।’
उनले जलवायु परिवर्तनको प्रभावस्वरूप हालै रसुवा जिल्लामा आएको बाढी र पहिरोका कारण २० भन्दा बढीले ज्यान गुमाएको र अर्बौंको धनमाल नोक्सान भएको जानकारी दिए । यसैगरी, मन्त्री शाहीले तराई–मधेस क्षेत्रमा लामो समयसम्म वर्षा नहुनुका कारण खानेपानीको हाहाकार भएको र किसानहरुले खेतमा रोपाइँ गर्न नपाएको अवस्था पनि देखिएको उल्लेख गरे
उनले भने, ‘सम्मेलनले हाम्रा साझा भविष्यको लागि सफल नीतिहरुको निर्माण र कार्यान्वयनमा सहयोग पुग्नेछ । वन तथा वातावरण क्षेत्रमा देखिएका विभिन्न चुनौतिहरुलाई सफलताका साथ सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ । सबैभन्दा ठूलो ताल रारा ताल जस्तो प्राकृतिक सम्पदा पनि अहिले जलवायु परिवर्तनको असरबाट पीडामा छ । यो तथ्य मात्रै होइन आफैंले देखेको र भोगेको कटुसत्य पनि हो ।
यसवर्ष मात्रै नेपालले जलवायु परिवर्तनका दुखद अनुभवहरु बेर्होनुपर्यो । हालै रसुवामा ठूलो बाढी पहिरोबाट करिब करिब २० जना भन्दा बढीले ज्यान गुमाउनुपर्यो । अर्बौं धन सम्पत्तिहरु नोक्सानीमा परेको अवस्था छ । यसै वर्ष नेपालको तराई मधेस क्षेत्रमा लामो समय वर्ष नहुँदा खानेपानीको समस्यासँगै किसानहरुले खेत रोप्न पाएको अवस्था रहेन । समयमा किसानले खेत रोप्न नपाउँदा आउँदा दिनमा खाद्य सुरक्षामा समस्या आउने अवस्था सिर्जना भएको छ ।’
नेपालले जलवायु संकटको बाबजुद वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै मन्त्री साहीले करिब ४६ प्रतिशत भूभाग वनले ढाकिएको तथ्य प्रस्तुत गरे । ‘सामुदायिक वन व्यवस्थापनमा नेपाल विश्वकै उदाहरण बनेको छ,’ उनले भने, ‘न्यून कार्वन उत्सर्जन गर्ने मुलुक भएर पनि हामी गहिरो असरमा परेका छौं ।’उनले नेपालले जैविक विविधताको संरक्षणमा ठूलो लगानी गरेको र कार्वन उत्सर्जन न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा समेत सक्दो प्रयास गरिरहेको बताए ।
उनले भने, ‘नेपालले जैविक विविधताको क्षेत्रमा ठूलो लगानी गरेको छ । करिब ४६ प्रतिशत भूभाग वनले ढाकेको छ । यसको संरक्षण भइरहेको छ । सामुदायिक वन व्यवस्थापनमा विश्वकै उदाहरणहरु प्रस्तुत गरेका छौं । तर न्यून कार्वन उत्र्सजन गर्दागर्दै पनि जलवायु परिवर्तनको गहिरो असर भोग्नु परेको छ । यो समस्याका बाबजुद नेपालले कार्वन उत्र्सजन न्यूनिकरण, अनुकुलनका क्षेत्रमा आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको छ ।’