गाजामा जारी युद्धबीच हमासले ६० दिनको प्रारम्भिक युद्धविराम र बन्धक मुक्तिसम्बन्धी प्रस्ताव स्वीकार गरेको छ। बीबीसीले जनाएअनुसार इजिप्ट र कतारको मध्यस्थतामा तयार भएको नयाँ प्रस्तावलाई हमासले बिना कुनै संशोधन लिखित सहमति जनाएको हो।
प्रस्तावको विवरण
सम्झौताअनुसार हमासले बाँकी रहेका ५० इजरायली बन्धकमध्ये करिब आधा, जसमा जीवित रहेको अनुमान गरिएका २० जनालाई दुई चरणमा मुक्त गर्नेछ। प्रारम्भिक युद्धविरामपछि स्थायी शान्तिबारे थप वार्ता गर्ने सहमति पनि प्रस्तावमा उल्लेख गरिएको छ।
यो प्रस्ताव यसै वर्ष अमेरिकाले अघि सारेको प्रारम्भिक खाकामा आधारित छ, जसलाई पछि इजिप्ट र इजरायलले परिमार्जन गरी प्रस्तुत गरेका थिए। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गत साता “सबै बन्धक एकैपटक मुक्त नभएसम्म कुनै सम्झौता नहुने” भन्दै कडा अडान लिएको थियो। नयाँ प्रस्तावबारे भने इजरायलले प्रतिक्रिया दिएको छैन।
युद्धको चर्को चरण
इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल ईयाल जामिरले युद्ध २२ महिनाको मोडमा पुगेको भन्दै गाजा सहरमा आक्रमण तीव्र पारिएको बताए। प्रत्यक्षदर्शीहरूले दक्षिणी साबरा क्षेत्रमा ट्याङ्क, हवाई तथा तोप आक्रमण भएको र सयौं विस्थापित नागरिक रहेका संयुक्त राष्ट्रसंघका विद्यालय र क्लिनिकलाई घेराबन्दी गरिएको बताएका छन्।
इजरायली मन्त्री परिषद्ले गाजा सहर कब्जा गर्ने सेनाको योजना चाँडै स्वीकृत गर्ने अपेक्षा गरिएको छ। यसबीच हजारौं मानिस पुनः विस्थापित भएका छन्।
मध्यस्थकर्ताको दबाब
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले कायरोमा इजिप्टका विदेशमन्त्रीसँग भेट गरी “दुवै पक्षलाई सहमतिमा ल्याउन अधिकतम दबाब दिइएको” बताए। उनले रफाह नाकाबाट दिएको अभिव्यक्तिमा गाजाको मानवीय संकट कल्पनाभन्दा बाहिर पुगेको भन्दै युद्धविराम तत्काल अपरिहार्य भएको बताए।
नेतन्याहुको अडान र हमासको माग
प्रधानमन्त्री नेतन्याहुले भने युद्ध केवल तब अन्त्य हुने स्पष्ट पारेका छन्, जब सबै बन्धक मुक्त हुनेछन्, हमासले हतियार त्याग्नेछ, गाजा निरस्त्रीकरण हुनेछ र प्यालेस्टिनी प्राधिकरण वा हमाससँग सम्बन्ध नभएको नयाँ प्रशासन स्थापना हुनेछ।
तर हमासले आफ्ना मागहरू प्रष्ट राख्दै आएको छ— प्यालेस्टिनी बन्दीहरूको मुक्तिसँगै युद्ध अन्त्य, इजरायली सेनाको पूर्ण फिर्ता र स्वतन्त्र प्यालेस्टिनी राष्ट्रको सुनिश्चितता बिना आफूले हतियार नत्याग्ने घोषणा गरेको छ।
मानवीय संकट चरममा
इजरायलसँगको युद्ध अक्टोबर ७, २०२३ मा हमासद्वारा दक्षिण इजरायलमा भएको आक्रमणपछि सुरु भएको हो। त्यस आक्रमणमा १,२०० जनाको मृत्यु र २५१ जना अपहरणमा परेका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा ६२,००४ गाजावासी मारिएका छन्। ९० प्रतिशतभन्दा बढी घर ध्वस्त छन्, स्वास्थ्य, खानेपानी र सरसफाइ प्रणाली पूर्ण रूपमा नष्ट भइसकेका छन्। अन्तर्राष्ट्रिय निकायहरूले खाद्य संकटका कारण “भोकमरीको सबैभन्दा खराब अवस्था” सुरु भइसकेको चेतावनी दिएका छन्।
पछिल्ला २४ घण्टामा मात्रै कुपोषणका कारण थप ५ जनाको मृत्यु भएको छ, जसमा २ बालबालिका पनि छन्। युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            